रविन्द्र मिश्रको पार्टीमा चर्को विरोध, लोकतान्त्रिक अभ्यास विपरित टीके प्रथा चलाएको गम्भिर आरोप
विवेकशिल साझाका कार्यकर्ताको प्रश्न संयोजक भगवान अनि हामी चाहि एस म्यान?
प्रकाशित २०७५ साउन १९ शनिबार
255
Shares
काठमाडौं। विवेकशिल साझा पार्टीले एक बर्षमै अनेक उतारचढाव देख्नु परेको छ। बिशेषगरि शहरीया मतदाताका बीचमा वैकल्पिक शक्तिको रुपमा उदाइरहेको विवेकशील साझा आन्तरिक लोकतन्त्रमा कमजोर देखिदा शुरुदेखि नै समस्यामा परेको छ।
विवेकशील र साझा मिलेर एक भएको १ बर्षको अवसर पारेर काठमाडौंमा पार्टीको प्रदेश नम्वर ३ ले आयोजना गरेको कार्यक्रममा शनिवार जे देखियो अन्य राजनीतिक दलका गुट उपगुटमा हुने विवाद भन्दा कम थिएन। त्यसमाथि पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्वको हुकुमी शैलीको चर्को विरोध हुँदा यो पार्टीका नेताहरुले आफूलाई अरु पार्टीका अरु नेता भन्दा फरक हौ भन्ने गरेपनि व्यवहार त्यो नभएको पनि देखियो।
बार्षिकोत्सव कार्यक्रममा सहभागी असन्तुष्टहरुले शुरुमै नेतृत्वसँग असन्तुष्टी व्यक्त गर्दै पाखुरामा कालोपटी वाँधेर आफ्ना कुरा सुन्नुपर्ने माग गरेका थिए। असन्तुष्ट मध्येका सुजन श्रेष्ठले मञ्चमै पुगेरै नेतृत्वको चर्को आलोचना गरे। उनले सहभागितामुलक लोकतन्त्र पार्टीमा नभएकोमा आक्रोश व्यक्त गरे।
अधिवेशनसम्म पँजनी गरेरै जाने पार्टी नीतिको पनि उनले विरोध गरे। उनले मूल्य, मान्यता र सिद्धान्त भन्दा पार्टीमा व्यक्ति हावी भएको बताए। एकाधिकार शैलीमा पार्टी चलाइएकोमा पनि उनले विरोध गरे।
जिल्ला संयोजकहरु जथाभावी चुनिएकामा समेत विवेकशील साझामा आक्रोश देखियो। यसरी पजनी गरेर लादिएको कुरालाई मान्ने हो भने हामी एस म्यान भन्दा बढी हुने छैनौ। असन्तुष्ट रहेका श्रेष्ठले सोधे, ' के हामी एस म्यान हो? के संयोजक भगवान हो ?'
प्रदेश नम्वर एकको संयोजक विवादास्पद व्यक्ति छानिएको भन्दै उनले त्यसको विरोध गरे। जिल्ला संयोजक आफैले चुन्न पाउनेकी की केन्द्रले नै तोक्ने उनले प्रश्न गर्दा असन्तुष्टहरुले उनको ताली पड्काएर स्वागत गरेका थिए।
विवेकशील साझाका संयोजक रविन्द्र मिश्र समेत सहभागी भएको कार्यक्रममा नेता सूर्यराजले बोल्दा बोल्दै स्थिति तनावपूर्ण भयो। सहभागीहरुबीच नै हात हालाहालको अवस्था सिर्जना भयो।
मिश्रले पछि मञ्चमा गएर वोल्दै कार्यक्रममा तनावको अवस्था आउनु अत्यन्तै दुखद भएको बताए। उनले कार्यक्रम स्थगित गर्दैगर्दा आफ्ना तर्फबाट चयन गरिएका जिल्ला संयोजकहरुलाई शुभकामना दिएका थिए।
मिश्रले शुभकामना दिएर कार्यक्रम समापन गरे लगत्तै उनको विरुद्ध नारावाजी समेत भएको थियो। ह्वीपबाट पार्टी चलाउन खोजेको र पार्टीमा टीके प्रथा भित्र्याउन खोजेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले मिश्रको चर्को विरोध गरेका थिए।
स्थिति अप्रिय नहोस भनेर कार्यक्रममा प्रहरी समेत परिचालन गरिएको थियो।