संरक्षण सूचिमा २६ स्तनधारी, ९ पन्छी र ३ सरिसृप प्रजाति
प्रकाशित २०७५ साउन २० आइतबार
297
Shares
काठमाडौं । सरकारले वन्यजन्तु संरक्षणको सूचि परिमार्जन गर्न लागेको छ । वन्यजन्तुको संरक्षण सूचिमा चराका नौ वटा प्रजाति रहेकोमा अहिले परिमार्जन गरी त्यसमा लाटोकोसेरो प्रजातिलाई पनि सरकारले चाडै नै थप्ने तयारी गरेको छ । केही महिनामा नै यो सूचि परिमार्जन गर्ने तयारी भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन पाँचौ पटक संशोधन भइसकेको छ । २०७३ चैत १३ मा भएको पाँचौ संशोधन हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन पहिलो पटक २०२९ सालमा लागु भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संसोधनमा लाटोकोसेराका केही प्रजातिलाई सूचिकृत गरिएको छ ।
राष्ट्रिय निकुञ्ज ऐन पुर्नलेखनका लागि समेत मन्त्रिपरिषदमा पेश भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताए ।
ऐनमा ८७८ प्रजातिका चरामध्ये ४ अनुसूचि बनाउने तयारी छ । अनुसूचि १ मा ४० प्रजाति , २ मा ८१ , ३ मा ४० र ४ मा बाकी रहेका ७१७ प्रजाति सूचिकृत गर्ने तयारी छ ।
वन्यजन्तुको संरक्षण सूचिमा २६ स्तनधारी ९ पन्छी ३ सरिसृप प्रजाति संरक्षणमा परेको छ । सरकारले ३३ प्रतिशत भुभागलाई संरक्षित सुचीका रुपमा घोषणा गरेपनि बन्यजन्तु मध्ये लाटोकोसेरोलाई खासै प्राथमिकतामा नराखेको संरक्षणकर्मी हरुको गुनासो छ ।
नेपालमा पाइने २२ प्रजातिकै लाटोकोसेरो कम प्राथमिकताको पन्छिका रुपमा परेको आईयुसिएन संस्थाको अध्ययनले देखाएको छ । लाटोकोसेरोलाई नेपालमा दुर्लभ सूचिमा नराखेपनि यसलाई अहिले दुर्लभ सूचिमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
समुदायले आपना वरपर रहेको ठुला रुख जोगाउने, घरको कापा, गु‘ड वा प्वालहरु बनाएर राख्ने जसले लाटोकोसेरोलाई उपयुक्त बासस्थान प्रदान गरी संरक्षणमा सहयोग पुग्न जान्छ । विश्वमा २ सय २५ प्रजाती पाइनेमा नेपालमा २३ प्रजातीका लाटोकोसेरो पाइन्छन् । काठमाडौं उपत्यकामा मात्रै १० प्रजातीका लाटाकोेसेरा पाइन्छन्
यससम्बन्धि त्यत्ति अध्ययन अनुसन्धान नभएपनि संख्या घटदै गएको प्रकृतिका साथीहरु नामका संस्थाका राजु आचार्यले बताए । विभिन्न मानवीय क्रियाकलाप वन बिनास, विषादीको प्रयोग, चोरी सिकार र व्यापारले गर्दा लाटोकोसेराको संख्या घटेको अनुमान गरिएको छ ।
नेपालमा लाटोकोसेरो लगायतका चरामात्रै हेर्न आठ प्रतिशत पर्यटक नेपाल आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । चितवन राष्टिय निकुञ्ज र राष्टिय अन्नपुर्ण संरक्षण क्षेत्रमा लाटोकोसेरा लगायतका चरा हेर्नका लागि मात्रै पनि पर्यटकहरु पुग्ने गरेका छन् । नेपालबाट वर्षेनी दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने विभिन्न अध्ययनले देखाएको छ ।
भारतमा ३०, भुटानमा १९, पाकिस्तानमा १९, माल्दिभ्समा १, बङ्गलादेशमा १५, श्रीलंकामा ८ प्रजातिका लाटोकोसेराहरू पाइन्छन् । पछिल्लो समयमा यिनको चोरी शिकारीको कारणले यिनको संख्या दिनप्रतिदिन घट्दो छ । विशेषगरी भारत र चीनमा यिनको अवैध व्यापार हुने गरेको छ। नेपालबाट वार्षिक कम्तिमा २ हजार वटा लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार हुने गरेको छ ।