arrow

पँगेनीको निधनमा देउवाद्वारा दुःख व्यक्त, श्रद्धाञ्जलीका लागि कांग्रेसका नेताहरू पुगे स्याङजा

logo
प्रकाशित २०७५ साउन २० आइतबार
pangeni-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन् ।  

सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताएका छन् । उनको आइतबार बिहान ५:३० बजे स्याङ्जामा हृदयघातबाट निधन भएको हो ।

नेपाली काँग्रेसका तर्फबाट २०७० सालमा संविधान सभा सदस्य समेत भएका पँगेनी वहालवाला काँग्रेस सभापति थिए। उनी यसभन्दा अघिल्लो समितिमा पनि काँग्रेस सभापति रहेका थिए। पँगेनीको निधनको खबरले स्याङजा काँग्रेस शोकमा डुबेको छ।

पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालय वक्तव्य मार्फत जनाएको छ। अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायत नेता स्याङ्जा पुगेका छन् ।   

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय पङ्गेनीप्रति सम्मान प्रकट गर्न कांग्रेसले यही साउन २१ गते केन्द्र र ७७ वटै जिल्ला कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै पार्टीले पार्टीको स्याङ्जा जिल्ला कार्यालय तीन दिन बन्द गर्नाका साथै पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राख्ने र १३ औँ दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको छ ।

गएराती आफ्नो घर पुगेका पँगेनी खानपिन पछि सुतेकै अवस्थामा विहान गम्भिर अवस्थामा भेटिएपछि अस्पताल पुर्याउदा उनको निधन भएको हो। चिकित्सकहरुले उनको मृत्यु हृदयघातका कारण भएको बताएका छन्।

विसं २०१९ जेठ १९ गते स्याङ्जाको भीरकोट नगरपालिका– ६ मा जन्मिएका पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा– २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ