फोटो पत्रकार सहीदुल अलामलाई विना शर्त रिहा गर्न माग
प्रकाशित २०७५ साउन २१ सोमबार
823
Shares
काठमाडौं । बंगलादेशका प्रशिद्ध फोटो पत्रकार सहीदुल अलामलाई विना शर्त तत्काल रिहा गर्न फोटो पत्रकार क्लब (पिजे क्लब) ले माग गरेको छ । अलामलाई ढाकास्थित आफ्नो अपार्टमेन्टमा रहेका बेला सादा पोशाकका प्रहरीले आइतबार राती गिरफ्तार गरेको थियो ।
सोमबार पिजे क्लबले विज्ञप्ति जारी गर्दै फोटो पत्रकारलाई सादा पोशाकका प्रहरीले सोसल मिडियामा तस्वीर पोष्ट र अन्तर्वार्ता दिएकै कारण गिरफ्तार गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ 'फोटो पत्रकार क्लब संविधानले प्रत्याभूत गरेका प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न आग्रह गर्दछ ।'
फोटो पत्रकार अलामले बंगलादेशमा जारी विद्यार्थीहरुको प्रदर्शनको तस्बीर फेसबुकमा पोष्ट गरेका थिए । बंगलादेशमा भइरहेको विद्यार्थीको आन्दोलनबारे अलजजीरा च्यानललाई अन्तर्वाता दिँदै सरकारको आलोचना गरेका थिए । साउन १३ गते तीव्र गतिमा गुडेको बसले ढाकाको मिरपुर–एयरपोर्ट सडकखण्डमा दुई जना विद्यार्थीलाई मारेको घटनाको विरोध र सडक सुरक्षाको माग गर्दै बंगलादेशमा हजारौ विद्यार्थीले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारहरुमाथि राज्यपक्षबाट आक्रमण हुँदै आएको छ ।
साथै विद्यार्थीहरुको प्रदर्शनको तस्बीर तथा समाचार संकलनका क्रममा फोटो पत्रकार एवम् पत्रकारहरु प्रति राज्यपक्षबाट भइरहेको नियोजित आक्रमणको समेत क्लबले निन्दा गरेको छ । क्लबले प्रेस माथिको यस्ता आक्रमण तत्काल बन्द गर्न र स्वतन्त्र रुपमा तस्बीर तथा समाचार संकलनमा व्यवधान नगर्न पनि बंगलादेश सरकारलाई आग्रह गरेको छ ।