काठमाडौं । काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निसान खड्का मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको ठिमीमा प्रहरीले बालकको शव मृत अवस्थामा फेला पारेको हो ।
आइतबार साँझदेखि हराएका बालकलाई प्रहरीले सोमबार मृत अवस्थामा फेला पारेको हो । बालकको शव भेटिएपछि अपहरणकारीहरु खोज्दै जाँदा ठिमीमा अपहरणकारीहरु भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि इन्काउन्टर गरेको छ ।
प्रहरीको गोली लागी अजय तामाङ र गोपाल तामाङ घाइते भएको प्रहरीले बताएको छ । साथै प्रहरीले अपहरणमा नजिकका मानिसहरुको संलग्नता रहेको आशंकामा एक महिलासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
आइबारसाँझबाट हराएका निशानलाई छाड्न अपहरणकारीले ४० लाख रुपैयाँ फिरौती मागेका थिए । बालककी आमा केही वर्षदेखि चियापसल गर्दै आएकी छिन् भने उनका बाबु वैदेशिक रोजगारीको क्रममा मुलुकबाहिर रहेका छन् ।