arrow

अख्तियारका ४ आयुक्तले पाए सफाई, कार्यवहाक आयुक्त घिमिरे अब योग्य !

नयाँ संविधानमा के छ योग्यताको व्यवस्था ? 

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
CIAA_new.JPG

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका पूर्व प्रमुख आयुक्त सहित ४ जनाले योग्यता विवाद सम्बन्धी मुद्दामा सफाई पाएका छन् । सर्वोच्च अदालतले २ वर्षपछि उनीहरुको योग्यता सम्बन्धि विवादको मुद्दा खारेज गर्ने फैसला सुनाएको हो । 

२०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षेत्रीले अख्तियारका आयुक्तहरुको योग्यता नपुगेको जिकिर गर्दै सर्वोच्चमा रिट हालेका थिए । क्षेत्रीको रिट निवेदनमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरी दुवै पक्षलाई छलफलमा बोलाईन् । त्यो आदेश थियो, मंसिर ५ गतेको । 

अख्तियारको अहिले कार्यवाहक प्रमुख आयुक्त रहेका नवीन घिमिरे, पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र आयुक्तहरु सावित्री गुरुङ, गणेशराज जोशी अख्तियारको आयुक्त हुन संविधानले तोकेको योग्यता भित्र नपर्ने जिकरि रिट निवेदकले गरेका थिए । सर्वोच्चको यो फैसलाले उनीहरुको योग्यता सम्बन्धी विवाद टुंगिएको छ । 

सर्वोच्चको यो फैसलाले कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्तका पदमा प्रतिस्पर्धाका लागि बाटो सहज भएको छ । 

२०७३ मंसिर ५ गते प्रधानन्यायाधीशले नै सुनुवाई गरेको रिटमा एक वर्षसम्म पनि दोस्रो सुनुवाई हुन सकेको थिएन । यी ४ जना आयुक्त नियुक्ति हुँदा कायम रहेको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) ले तोकेको योग्यता नपुग्ने रिट निवेदकको जिकिर थियो । 

अहिलेको व्यवस्था 
संविधानको भाग–२१ धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था छ । उपधारा १ मा नेपालमा एक अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहनेछ  जसमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरु रहनेछन् । प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने छ’ भनिएको छ । 

उपधारा २ मा ‘राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्नेछ’ भनी उल्लेख छ । 

उपधारा ३ ले पदापधिको कुरा गरेको छ, ‘प्रमुख आयुक्त र आयुक्तको पदावधि नियुक्तिको मितिले छ वर्षको हुनेछ ।’ उनीहरुको पुनः नियुक्ति नहुने कुरा उपधारा ५ ले बोलेको छ । 

उपधारा ६ मा योग्यताको व्यवस्था गरिएको छ । 
(क) मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको,
(ख) नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, 
(ग) लेखा, राजस्व, ईन्जिनियरिङ, कानून, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको, 
(घ) ४५ वर्ष उमेर पूरा भएको, र 
(ङ) उच्च नैतिक चरित्र भएको 

अख्तियार प्रमुख छान्दै संवैधानिक परिषद्, चर्चामा ४ जना 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ