काठमाडौं । राजनीति पेशा कि समाजसेवा भनेर सोधिरनु पर्ने विषय नै हैन । जुनसुकै देशमा पनि राजनीति समाजसेवा प्रेरित भएर गरिन्छ । समाजसेवा भएकैले कुनै पनि पद त्याग्नासाथ त्यसबाट पछि कुनै पनि लाभ लिन पाइँदैन । केही मुलुकलाई छाडेर सबैजसो मुलुकमा यो व्यवस्था गरिएको छ ।
तर नेपालमात्र विश्वको एक त्यस्तो देश हो जहाँ नेतालाई आजीवन भत्ता दिइन्छ । अनपढलाई सत्ता दिइन्छ । हो, विकृति बढ्दो छ । अहिले मन्त्री भएपछि आजीवन सेवा सुविधा लिने चलन छ । राष्ट्रपतिदेखि उच्च पदस्थलाई आजीवन पेन्सन नै हुन्छ ।
सबैभन्दा स्वतन्त्र मुलुक त अमेरिका नै होला । त्यसैले त अमेरिकी पूर्व राष्ट्रपतिहरु ढुक्कसंग आफ्नो जिम्मेवारीबाट पन्छिएपछि आफ्नो पुरानो पेशा अपनाउँछन् । उनीहरु त्यसैमा गर्व गर्छन् । तीन पूर्व राष्ट्रपतिहरु आफ्नो व्यवसायमा दत्तचित्त छन् । बिल क्लिन्टन, जर्ज बुश जुनियर र बाराक ओबामाले राष्ट्रपति हुँदा सान, शौकत र आर्थिक उपार्जन राम्रै गरे । तर पनि उनीहरुले आफ्नो पेशा छाड्न सकेनन् ।
राष्ट्रपतिपछि पुग्ने कुनै ठाउँ नै छैन । त्यसपछि उनीहरु पुनः आफ्नो पेशामा फर्के । क्लिन्टन र ओबामाले लेक्टर दिएर निकै ठूलो रकम हात पार्छन् । प्रवचन दिनमा दुवै माहिर छन् । अर्थात् उनीहरु कला प्रस्तुत गरिरहेका छन् । बुसका प्रतिद्धन्द्धी एलगोरले राष्ट्रपतिमा हार्नासाथ आफ्नो अध्यापनको पेशालाई निरन्तरता दिए ।
तर नेपालमा ? नेपालको कुरा बेग्लैछ । यहाँ ब्यापार गर्नेहरुले म ब्यापारी हुँ भन्दैनन् । आफूले जानेको केही गर्दैनन् । उनीहरुलाई लाग्छ कि जीवन राजनीतिमा होमियो । अब यसैबाट उठाउनुपर्छ जीवनभर ।
राजनीति भनेको समाजसेवा हो । त्यसैले अन्य देशमा राजनीति गरेर पाएको पदलाई हाँसीखुशी त्याग्ने प्रचलन छ । नेपालमा ठूलो सुविधा चाहिएको छ । एक पटक मन्त्री भएपछि उसलाई आजीवन सुविधा चाहिएको छ । प्रधानमन्त्री वा राष्ट्रपति भएपछि त के कुरा भयो र ।
हाम्रा पूर्वप्रधानमन्त्रीहरु राम्रो सेवा सुविधा लिइरहेका छन् । सुरक्षा, गाडीदेखि लिएर अरु के के हो के के । यसलाई बढाउनमा उनीहरु लागिरहेका छन् । सुविधा पुगेन भनेर । तर उनीहरु आफूले नै केही गरौं भनेर लाग्दैनन् । अधिकांश कम उमेरमा नै त्यो पद हासिल गर्नेहरु छन् । यहाँ जति पाको भयो त्यति त्यो पद पक्का भयो भन्ठान्छन् ।
शेरबहादुर देउवा पढेका प्रधानमन्त्री, त्यसैगरी डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, खिलराज रेग्मी र पुष्पकमल दाहाल प्रचण्ड । यिनीहरु आफ्नो पेशा गर्न सक्षम छन् । तर यिनीहरुलाई सरकारी भत्ता नै चाहिएको छ । सबैका आफ्ना घर छन् । तर यिनीहरुलाई सरकारी आवासगृह चाहिएको छ ।
यसमा सबैभन्दा गरिब त पूर्वराष्ट्रपति डा रामवरण यादव लाग्छन् । चिकित्सामा दक्ष डाक्टरले कहिले बिजुलीको पैसा तिरेन त कहिले घर सरेन भनेर चर्चा भइरहन्छ । अनि निवेदन हाल्न पुग्छन् राष्ट्रपति कार्यालयमा । यो भन्दा दुर्भाग्य के हुन्छ ।
डा यादवले अहिले पनि कुनै क्लिनिकमा गएर उपचार दिने हो भने सयौं मानिस लाइन लागेरै उपचार गराउन पुग्थे होला । उनले त निःशुल्क गाउँगाउँमा गएर उपचार गराउनु पर्ने थियो । यतातर्फ ध्यान गएन भने अझ बढी दुर्भाग्य मुलुकले बेहोर्ने छ ।
पूर्व उपराष्ट्रपति परमानन्द झा पनि न्याय क्षेत्रमा रहेका थिए । उनले न्यायकै क्षेत्रमा कुनै परामर्श दिँदा पनि उनलाई आम्दानीको स्रोत राम्रो बन्न सक्छ । यसरी आफ्नो दक्षता जे मा छ त्यसैमा रहेर गर्न सक्नुपर्यो । हैन भने देशलाई कंगाल बनाउने गलत पेशा राजनीति नै बन्नसक्छ । नयाँ पुस्तालाई केही नसिकाउने हो भने विकृतिले मुलुक ढाक्नेछ ।