सभापति सिँगापुर जाने भएपछि कांग्रेसको आकस्मिक बैठक, अदालतमाथिको हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्ने
प्रकाशित २०७५ साउन २२ मंगलबार
462
Shares
काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक बैठक अबको केहीबेरमा बस्ने भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानन्यायाधीशका उम्मेदवारमाथि राजनीतिक पूर्वाग्रहको आधारमा हटाउने कार्यको अन्तर्राष्ट्रियकरण गर्ने निर्णयका लागि सो बैठक बस्न गइरहेको बताइएको छ ।
आकस्मिक बैठकको निर्णयबाट प्रधानन्यायाधीशको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा कांग्रेस अघि बढेको हो । संसदको चुनावअघि देखि नै कम्युनिष्ट अधिनायकवाद र सर्वसत्तावाद हावी हुनसक्ने बताउँदै आएको कांग्रेसले अहिलेको न्यायालयलाई पार्टीको छायामुनि राखेको आरोप पनि लगाएको छ ।
संसदमा दुईतिहाइ रहेको दम्भको आधारमा नेकपाले राजनीतिक निर्णयले न्यायालयमाथि हस्तक्षेप गरेको कांग्रेसको निष्कर्ष छ । सोमबार संसदमा बोल्ने कार्यक्रम रहेकोमा सभापति देउवा सोमबार स्याङ्जा पार्टीका जिल्ला सभापतिको निधनमा शोक व्यक्त गर्न स्याङ्जा गएपछि संसदमा बोल्न समय जुरेेेन। त्यसपछि लिखितरुपमै पार्टीको धारणा जारी गर्नका लागि यो आकस्मिक बैठक बोलाइएको हो ।
बुधबार सभापति देउवा सिँगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी सिँगापुर जाने भएपछि पार्टीका शीर्षनेताहरुले आकस्मिक बैठक बोलाउनका लागि आग्रह गरेका थिए ।