प्रजातन्त्रको घाम नताप्ने घोषणा गरेका मनुजबाबु मिश्रको निधन
प्रकाशित २०७५ साउन २३ बुधबार
434
Shares
काठमाडौं । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण निधन भएको छ ।
आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र तीन दशकदेखि आफ्नो निवासलाई गुफा बनाएर बाहिर निस्किएका थिएनन् ।
उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन् ।
कान्छो छोरा रोशन विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
राजानिकट मिश्र नेपालमा प्रजातन्त्र आएपछि प्रजातन्त्रको घाम नै ताप्दिन भनेर आफ्नै घरलाई गुफा बनाएर बसेका थिए । अग्रज आधुनिक चित्रकार मिश्र विश्व चित्रकलाको इतिहासका अध्येता र व्याख्याता पनि हुन् ।
उनले रेडियो नेपालमा गायनदेखि लिएर बालकृष्ण सम र भीमनिधि तिवारीका नाटकमा अभिनय समेत गरेका थिए ।