ललितपुर । तीन दशकपछि ललितपुरको पाटनमा लाखे नाच सुरु भएको छ । हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाच देखाउने परम्परा भएपनि ललितपुरका पाटनमा यो नाच रोकिएको करिब ३ दशक नाघिसकेको थियो ।
घण्टाकर्ण चर्तुदशीका दिनदेखि निरन्तर रुपमा पाचदिनसम्म यो नाच प्रर्दशनी हुनेछ । पाटनको सौगलबाट सुन्धारा ओकुबहाल , गाबहाल, पुर्णचण्डी , नकबहील , मंगलबजार ,हखाःबजार हुदै सौगलमै पुगेर समापन हुनेछ ।
स्थानीय यल लायकू मिप्वाः लाखे पुचःले आफनै सदस्यहरुसंग पैसा उठाएर यो नाच ललितपुरको पाटन क्षेत्रमा यसपालीदेखि देखाउन थालेको छ ।
लाखे अर्थात राक्षसको भेषमा एकजना र उसलाई जिस्काउने एक झयालिन्चा वा तिनपाकुचा अर्थात तीन फुटको होचो रमाइलो गर्ने जिस्काउने गरी दुई जनाले नगर परिक्रमा गरी समुदायलाई मनोरन्जन दिने गरेका छन् ।
उपत्यकामा रोपाई सकेर मानिसहरु फुर्सदिलो हुने भएकाले यो समयमा मनोरन्जन प्रदान गर्न लाखे नाच घण्टाकर्ण चर्तुदशीका दिनदेखि ईन्द्रजात्रासम्म देखाउने परम्परा छ ।
रोपाईका बेला खान र बस्न ठेगान नहुने र काम मात्रै गर्नुपर्ने भएकाले यसपछि खानपिन र रमाइलो गर्ने भन्दै यस्तो नाच देखाउने गरेपनि दशकौदेखि नाच लोप भएकाले यसलाई जिवन्त पार्ने प्रयास गरिएको समुहका नृत्य निर्देशक तथा कलाकार उत्तम रत्न शाक्यले बताए ।
यो नाच घण्टाकर्ण चर्तुदशी , त्यसको भोलीपल्ट , कृष्णाष्टमी ,जनैपुर्णिमा तथा इन्द्रजात्रामा देखाउने लक्ष्य रहेपनि पाटनका कुनै स्थानबाट बोलावट भएमा जाने तयारी पनि रहेको शाक्यले बताए ।
समुहका सदस्यहरुले लामो समयदेखि यो नाच पाटनमा हेर्न नपाएकाले यो नाच लोप हुन बाट जोगाउने काम आफैबाट सुरु गर्ने भन्दै ६ जना कलाकारलाई यससम्बन्धि तालिम दिई पालो पालो नाच देखाउन थालेका हुन ।
सुरुमा यो नाच देखाउन आबश्यक पर्ने रकम समुहकै सदस्यहरुले २ सय देखि ३ सय सम्म उठाएर संस्कृति संरक्षणको प्रयास गरिएको उनको भनाइ छ ।
यो नाच प्रर्दशनीका लागि बडा कार्यालय , नगरपालीका कतै बाट पनि सहयोग नपाएपनि समुदाय तथा स्थानीयको सहयोगबाट संचालन गरिरहेको पनि समुहका शाक्यले बताए ।
यो नाचमा कोशीश ताम्राकार र पूजन श्रेष्ठ राक्षसका भेषमा तथा रेगन मुल्मी र सुप्रिम शाक्य झ्यालिन्चा वा तिनपाकुचा का भेषमा नुत्य प्रर्दशन गर्ने गरेका छन् । यसैगरी नाचमा चिलाख वा आगोको लप्का समाउने व्यक्ति र बाजागाजा बजाउने गरी ३० जना सहभागि छन् ।