रत्ननगर। चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित भएका छन्। प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै पाठक अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले जानकारी दिए।
गए राति सम्पन्न निर्वाचनमा पाठकले ९३ मत प्राप्त गरेका थिए भने अधिकारीले ८४ मत ल्याए। दुई वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन्। सापकोटाका अनुसार उपाध्यक्षमा हिरादत्त तिवारीलाई पछि पार्दै प्रगतिशील समूहकै हरिबहादुर मैनाली विजयी भए। सचिवमा प्रजातान्त्रिक समूहका धर्म वाग्ले, कोषाध्यक्षमा प्रगतिशील समूहका सूर्यबहादुर बोहरा र सहसचिवमा प्रजातान्त्रिक समूहकी गोमा न्यौपाने निर्वाचित भए।
सचिव र सहसचिव दुई पदाधिकारीबाहेक कार्यसमितिमा सबै प्रगतिशील समूहका उम्मेद्वार विजयी भएका छन्। केन्द्रीय पार्षद् आठ जनामा पाँच प्रगतिशील समूहका र तीन प्रजातान्त्रिक समूहका उम्मेदवार विजयी भए।
सदस्यमा प्रगतिशील समूहका अजय तामाङ, नारायण गिरी, विकास गुरुङ, तुलसीराम पाण्डे, शिवराम महतो, टेकनाथ अधिकारी, अर्जुनबाबु तिवारी र महिला सदस्यमा भवानी लोहनी निर्वाचित भए।
केन्द्रीय पार्षद्मा प्रगतिशील समूहका जनकराज पौडेल, बद्रीनाथ पण्डित, कृष्णप्रसाद पन्त, भलोनाथ नेपाल, पदमप्रसाद दाहाल तथा प्रजातान्त्रिक समूहका श्रीराम दवाडी, मुन्ना विक्रम खाती, र सीताराम अधिकारी निर्वाचित भए। रासस