वीपीका कट्टर आलोचक भरत शम्शेर, जो पछि इमानदार समर्थक बने
प्रकाशित २०७५ साउन २६ शनिबार
558
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता ९० वर्षीय भरत शम्शेर राणाको शुक्रबार भारतको कोलकातामा निधन भएकोमा नेपाली कांग्रेसले श्रद्धाञ्जली व्यक्त गरेको छ। कांग्रेसले शनिबार जारी विज्ञप्तिमा भनिएको छ 'सम्पूर्ण जीवन प्रजातन्त्रका लागि संघर्ष र विपि विचारधाराप्रति अर्पित गर्ने अथक योद्धाको भौतिक विदाईको यो क्षणमा नेपाली कांग्रेस उनको अविचलित निष्ठाप्रति उच्च सम्मान व्यक्त गर्दछ ।'
भरत शम्शेरको निधनसँगै कांग्रेसले लोकतन्त्र र गणतन्त्रको पक्षमा शुरुदेखि नै संघर्षरत एक प्रखर व्यक्तित्व गुमाएको उल्लेख गरेको छ ।
नेपालको प्रथम संसदमा भरत शम्शेर गोर्खा परिषद्को नेताको हैसियतले प्रमुख प्रतिपक्षी दलको नेता थिए । वि.सं. २०१७ सालको प्रतिगामी कदमसँगै वीपी लगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिदै स्वर्गीय राणा नेपाली कांग्रेसमै प्रवेश गरे र समयक्रममा कांग्रेसकै शीर्ष तहको एक नेताका रुपमा स्थापित समेत भए ।
साथै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राणा प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिवार ट्विट गर्दै प्रवक्ता शर्माले लेखेका छन् ' आज दिवंगत यी अग्रजलाई हार्दिक श्रद्धाञ्जली !!' '
शर्माले वीपीका कट्टर आलोचक भरत शम्शेर, जो पछि वीपीको इमानदार समर्थक बनेको सम्झदै लेखेका छन् 'वीपीका कट्टर आलोचक,भरत शम्शेर, जो पछि वीपीका इमानदार समर्थक बन्नुभयो ! ०१५ सालको संसदमा प्रमुख विपक्षी नेता । संसद भंग र वीपीलाई जेलपछी खरो विरोध गर्दै संघर्षको पक्षमा उभिनु भयो, वीपीलाई साथ दिनुभयो र कांग्रेसमै प्रवेश गर्नुभयो ।'
त्यस्तै स्वर्गीय नेता राणाप्रति उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पित गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार विहान ९ बजे बस्ने जनाएको छ ।
राणाको शनिबार बिहान कलकत्तास्थित घरमा निधन भएको थियो । गोरखा परिषद्का संस्थापक महासचिव राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनि नेपालको पहिलो संसदका विपक्षी दलका नेता हुन् ।
परिवारका अनुसार उनले आफ्नो शव नजलाउन छोराछोरीलाई भनेका थिए । उनले दाहसंस्कारमा आफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छोराछोरीलाई पत्रमार्फत आग्रह गरेका थिए । उनको शव कलकत्ताको अस्पताललाई बुझाइने भएको छ ।
२०१७ सालको कु पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए। उनको ९० वर्षको उमेरमा निधन भएको हो।