तातो चियाको बाफ र अधिनायकवादको कृतिम हल्ला उस्तै : मन्त्री ज्ञवाली
कांग्रेस खुम्चेको पीडाले स–साना कुरामा बिरोध गरेर चर्चामा आउँन खोज्दैछ
प्रकाशित २०७५ साउन २७ आइतबार
373
Shares
भक्तपुर । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको बताएका छन् । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए ।
उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको भनाई राखे ।
सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझाबको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने–“अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।”
प्रतिपक्षको रुपमा नेपाली कांग्रेसले बिरोधका लागि बिरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने–“सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि बिरोध गरेर चर्चामा आउँन खोजेको छ ।” उहाँले कांग्रेसलाई विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे।
सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको उनको भनाई थियो ।
सम्बृद्धि नेपाल, सुखी नेपालको सरकारको अभियान सफल पार्न बाह्य सम्पर्क, सम्बन्ध असाध्यै राम्रो बनाएका छौ भन्दै उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउँने, र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा देशलाई ल्याउन दाताहरुको सहयोग समेत जुटाउँने कामका लागि लागिपरेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउँन र वैदेशिक लगानी अभिबृद्ध गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्रयाउन आफ्नो पहल भईरहेको बताउँदै अहिले परिपक्क, अनुकुल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको बताए ।
अघिल्लो सरकारले गरेको नियुक्ती बदर गर्दै प्रतिशोध साध्ने काम सरकारले नगरेको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो–“वर्तमान् सरकारले देउवा सरकारले गरेको नियुक्ती बदर गरेको होईन, देउवा सरकारले माओवादीका मन्त्रीहरुलाइ विना विभागिय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचार संहिता बिरुद्ध निर्वाचनलाई नै पभावित पार्ने गरि गरेको नियुक्ती वदर गर्न खोजेको हो ।”
सरकारले गरेको वदरलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट उल्टाउँने प्रयास गरेपनि अन्तत ः अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा सरकार विश्वस्त रहेको भनाई राखे ।
मन्त्री ज्ञवालीले भने–“दोहोर कर जनताले तिर्नु पर्दैन, त्यस्तो कर छ भने सरकारले हटाउँछ, करको दायरामा नआएकालाई दायरामा ल्याउँन खोज्दा कतिपय समस्या आउँछन्, यद्यपी दोहोरो करकोबारेमा सरकारले रिपोर्ट संकलन गरिरहेको छ, त्यस्तो पाईएमा त्यस्ता कर हटाउँछ ।”
संविधानले नै प्रदेश र स्थानीय सरकारलाई पनि कर लगाउँन अधिकार दिएको स्मरण गराउँदै उहाँले जनताले दोहोरो कर भने तिर्नु नपर्ने बताए ।