arrow

सरकारको अनुदार नीतिले ‘विप्लव’ पार्टीमा संकट, ओलीको ट्रिक

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
biplab-maobadi.jpeg

काठमाडौं । सरकारको अनुदार नीतिले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संकटमा परेको छ । सरकारले विप्लवको गतिविधि नियन्त्रण गर्न कडा कदम चालेपछि अहिले विप्लव पक्षका नेताहरुकै भागाभाग हुन थालेको छ । 

विप्लव पक्षका अधिकांश नेताहरुका मोवाइलसमेत स्वीचअफ गरिएका छन् । एक नेताले भने, ‘हाम्रा मोवाइल पनि ट्रयाक गरिएको छ, त्यसैले धेरै कुरा केही नगरौं ।’

सुरक्षा भन्दै सरकार विप्लव समूहसंग अनुदार भएको हो । सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो । 

विप्लव समूहको गतिविधिबारे सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत ब्रिफिङ गरेका छन् । उनीहरुले विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने राय दिएको बताइएको छ । यो राय पनि सरकारको चाहना अनुसार नै आएको बालुवाटार स्रोत बताउँछ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बढी नै विप्लव समूहसंग अनुदार देखिएको छ । एमाले अनुदार बन्नु स्वभाविकै भए पनि माओवादीका नेताहरु अनुदार बन्नुलाई भने आश्चर्यकै रुपमा लिइएको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवमाथि प्रहार गर्न खोज्नु पनि ठूलै राजनीतिक छलाङका रुपमा बुझ्न सकिन्छ ।

अहिले विशेषगरी सरकारको ध्यान पश्चिमी भेगमा बढी गइरहेको छ । विप्लवको हराभरा क्षेत्र मानिन्छ पश्चिम नेपाल । उक्त क्षेत्रमा विप्लव समूह सफल पनि देखिएको छ । सरकार पनि सोही क्षेत्रलाई कडा पार्ने योजनामा लागेको छ । 

 शान्ति सुरक्षामा असर पर्ने काम गर्नेलाई जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू र कानुन बमोजिम गर्दा मुद्दा फितलो नगराउनू भनी गृहमन्त्री थापाले सुरक्षा निकायलाई दिएको निर्देशनले विप्लव समूहलाई समाप्त नै पार्नु भन्ने आदेश दिएको हो भन्नेहरु धेरै छन् । 

मन्त्री थापाले विप्लव समूहका मागको सुनुवाइ त परैजावस् संवादमा समेत नबोलाई सीधै एक्सनमा जाने नीति लिएर या त विप्लवसंग सरकार डराएको संकेत गरेका छन् । या त कसैको ईशारामा दमनको नीति लिएका छन् । 

संवादको नीति नअपनाई सबै नेता तथा कार्यकर्ताका साथै समर्थकलाई समेत गिरफ्तार गर्न दिएको निर्देशनले विप्लव समूहलाई लाखापाखा पार्ने योजना नै रहेको गृह स्रोतले बताएको छ । गृहको अर्को स्रोतले भने वार्ताको प्रयास पनि भइरहेको बताएको छ । 

यो गृहको अलमलमा पार्ने अर्को चाल पनि हुन सक्छ । किनकि यो समूहका प्रवक्ता नै पक्राउ परेका छन् । चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएर लगातार समय थप्दै गएको छ । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्री थिए । 

प्रधानमन्त्री ओलीको ट्रिक
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अझै पनि माओवादीबाट आएका नेताहरुबाट विश्वस्त हुन सकेका छैनन् । उनीहरु विप्लव वा मोहन वैद्य किरण समूहसंग कस्तो सम्बन्ध राखिरहेका छन् भन्ने चिन्ता ओलीमा छ । 

त्यसलाई चिर्न पनि ओलीले बादलमार्फत कडा कदम चालेको बुझिन्छ । यसले (नेकपा) बीचको विश्वास मजबुद बन्ने अनुमान गरिएको छ । ओलीको यो प्रतिशोध साँध्ने नीति पनि हो कि भन्ने आशंका बढेको छ । 

ओली निकटका नेताका अनुसार विप्लवविरुद्धको अभियान आगामी चाडपर्व लक्षित अप्रेशन हो । ढुक्कसंग चाडबाड मनाउने वातावरण मनाउन यो कदम चालिएको हो । 

अहिलेदेखि नै विप्लव समूहले चन्दा आतंक फैलाएर व्यापारीलाई तर्साइरहेको सरकारको निष्कर्ष छ । यही चन्दा आतंक र सुरक्षाको बहानामा ओली सरकारले दबाउ नीति ल्याएको विष्लेषण गर्न थालिएको छ । 

बन्द फासफुस हुने संकेत 
प्रकाण्ड पक्राउ परे लगत्तै विप्लवले विज्ञप्ति जारी गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर उच्च निगरानी भएकाले पनि उनीहरुको भण्डाफोर योजना सफल हुन सकेन । 

विप्लवले सरकारमा रहेका मन्त्रीदेखि नेतासम्मका काला कर्तुतको भण्डाफोर गर्ने नीति बनाएको छ । यही त्रासमा सरकारले एक्सन लिएको बुझिन्छ । 

शनिबारदेखि नै कार्यक्रम बनाए पनि केही भइरहेको छैन । साउन २९ गते मंगलबार बन्द आव्हान गरिए पनि सफल हुने सम्भावना देखिँदैन । यसैपनि बन्दको प्रभाव बढी पश्चिममा पर्ने गरेको छ । 

तर उच्च निगरानीले गर्दा पश्चिममा पनि यसअघिको जस्तो बन्द सफल हुने सम्भावना छैन । काठमाडौं उपत्यकामा बिहानै उट्पट्याङ गर्ने विप्लव समूहले यसपटक त्यो तागत पनि राख्न नसक्ने गरी सुरक्षा कडा पारिएको सुरक्षा निकायले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ