‘सोल्टी’ र ‘मितिनी’ काठमाडौ आउँदै : विदेश जाने गैडाको संख्या ३० पुग्ने
प्रकाशित २०७५ साउन २९ मंगलबार
224
Shares
काठमाडौं । चीन पठाउने तयारी गरेको ‘सोल्टी’ र ‘मितिनी’लाई मंगलबार काठमाडौ ल्याइदैछ । चीनलाई उपहार स्वरुप दिन लागेको दोस्रो जोडी गैँडामध्ये ‘सोल्टी’ र ‘मितिनी’ लाई एस्कर्टिङ सहित काठमाडौं ल्याइँदैछ ।
एकदेखि डेढ वर्ष उमेरको भालेको नाम सोल्टी र डेढदेखि दुई वर्षको पोथी मितिनीलाई मंगलबार रातिसम्म काठमाडौं ल्याइ पुरयाइनेछ ।
दूई वटा छुट्टाछुट्टै ट्रकमा गैडालाई राखेर एस्कर्टिङ टोली सहित ६ वटा गाडी काठमाडौं आउन लागेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बेद प्रसाद ढकालले बताए ।
चितवनबाट काठमाडौ आउने टोलीमा भेटरीनरी चिकित्सक, खोरका मिस्त्री, सामान बोक्ने प्राबिधिक सहित २५ जना ४ वटा जिपमा आउदै छन् । २ जना भेटरीनरी चिकित्सक सहितको टोली चितवनबाट काठमाडौ आउन लागेका हुन् ।
मंगलबार राति सम्म काठमाडौ आइपुग्ने गैंडालाई सातडोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मुख्य कार्यालयमा राखिनेछ ।
यो गैँडालाई ३१ गते विहिबार चीनको टोलीलाई हस्तान्तरण गरिनेछ । आउने मंगलबार बेलुका ७ बजे विशेष कार्गो विमानबाट सोल्टी र मितिनी चीन जाने छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप यो जोडी गैडा पठाउन लागिएको हो । यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइ सकेको छ । ‘रुपसी’ र ‘भद्र’ नामका गैडालाई चीनको ग्वान्जाओस्थित पान्यु जिल्लामा रहेको चिमेलोङ सफारी पार्कमा राखिएको छ ।
पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक भने फर्किसकेका छन् । अब फेरी यो जोडी गैडा संगै नेपाली २ जना भेटरीनरी चिकित्सक , ३ जना केयर टेकरको अर्को नया टोली चीन जाने अधिकृत ढकालले बताए ।
दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गैंडा उपहार दिने वचन दिनु भएको थियो । त्यहि अनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा यो जोडी गैँडा पठाएपछि निकुञ्जबाट अहिले सम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० वटा पुग्ने भएको छ ।
बाह्र वर्षपछि यो बर्ष दुई जोडी गैँडा चीन पठाउने प्रक्रिया अघि बढेको हो । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो ।
पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । यसअघि गैँडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए ।
गैंडा हस्तान्तरणका लागि कुल एक करोड ५० लाख रुपैयाँ खर्च चीन सरकारले नै बेहोरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।