arrow

‘सोल्टी’ र ‘मितिनी’  काठमाडौ आउँदै : विदेश जाने गैडाको संख्या ३० पुग्ने  

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
rhino.JPG

काठमाडौं । चीन पठाउने तयारी गरेको ‘सोल्टी’ र ‘मितिनी’लाई मंगलबार काठमाडौ ल्याइदैछ । चीनलाई उपहार स्वरुप दिन लागेको दोस्रो जोडी गैँडामध्ये ‘सोल्टी’ र ‘मितिनी’ लाई एस्कर्टिङ सहित काठमाडौं ल्याइँदैछ  ।

एकदेखि डेढ वर्ष उमेरको भालेको नाम सोल्टी र डेढदेखि दुई वर्षको पोथी मितिनीलाई मंगलबार रातिसम्म  काठमाडौं ल्याइ पुरयाइनेछ  । 

दूई वटा छुट्टाछुट्टै ट्रकमा गैडालाई राखेर एस्कर्टिङ टोली सहित ६ वटा गाडी काठमाडौं आउन लागेको  चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बेद प्रसाद ढकालले बताए । 

चितवनबाट काठमाडौ आउने टोलीमा भेटरीनरी चिकित्सक, खोरका मिस्त्री, सामान बोक्ने प्राबिधिक  सहित २५ जना ४ वटा जिपमा आउदै छन् । २ जना भेटरीनरी चिकित्सक सहितको टोली चितवनबाट काठमाडौ आउन लागेका हुन् ।

मंगलबार राति सम्म काठमाडौ आइपुग्ने गैंडालाई सातडोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मुख्य कार्यालयमा राखिनेछ । 

यो गैँडालाई ३१ गते विहिबार चीनको टोलीलाई हस्तान्तरण गरिनेछ । आउने मंगलबार बेलुका ७ बजे विशेष कार्गो विमानबाट सोल्टी र मितिनी चीन जाने छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप यो जोडी गैडा पठाउन लागिएको हो । यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइ सकेको छ  । ‘रुपसी’ र ‘भद्र’ नामका गैडालाई चीनको ग्वान्जाओस्थित पान्यु जिल्लामा रहेको चिमेलोङ सफारी पार्कमा राखिएको छ । 

पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक भने फर्किसकेका छन् । अब फेरी यो जोडी गैडा संगै नेपाली २ जना भेटरीनरी चिकित्सक , ३ जना केयर टेकरको अर्को नया टोली चीन जाने अधिकृत ढकालले बताए । 

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गैंडा उपहार दिने वचन दिनु भएको थियो ।  त्यहि अनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा यो जोडी गैँडा पठाएपछि  निकुञ्जबाट अहिले सम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या  ३० वटा पुग्ने भएको छ  । 

बाह्र वर्षपछि यो बर्ष दुई जोडी गैँडा चीन पठाउने प्रक्रिया अघि बढेको  हो । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । 

पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । यसअघि गैँडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए  । 

गैंडा हस्तान्तरणका लागि कुल एक करोड ५० लाख रुपैयाँ खर्च  चीन सरकारले नै बेहोरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ