काठमाडौं । सरकारले मायाको चिनोको रुपमा दिन लागेका सोल्टी र मितिनी आज चीन जाँदैछन् । मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएका भाले सोल्टी र पोथी मितिनी गैंडा बिहीबार अपराह्न साढे ४ बजेको फ्लाइटमा चीन जान लागेका हुन् । अगाडी पछाडी सेना गाडीका एस्कर्टिङ चिनवनबाट ल्याइएका सोल्टी र मितिनीले एक दिन दुई रात ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा बिताए । उनीहरुले मजासँग घाँस खाए ।
यी गैंडालाई चितवनको रत्ननगरबाट काठका अलग अलग खोर (बोमा) मा राखेर ल्याइएको हो । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो विमानमा राखेर पठाइने छ । यी गैंडालाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चीन सरकारका प्रतिनिधिलाई विमानस्थलमै हस्तान्तरण गर्नेछन् । उनीहरुलाई साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्र सहित चीन पठाइनेछ ।
चीन पठाउन लागिएकामध्ये मितिनीलाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो । सोल्टीलाई भने पोहर बर्खामा बाढीले बगाएर लगेपछि, भारतीय सीमा नवलपरासीको त्रिवेणी क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । उपहार दिइएका दुबै करीब दुई वर्ष उमेरका छन् । सोल्टीभन्दा मितिनी केही महिना जेठी छ । दुवै गैंडालाई चीनको साङ्घाई सफारी पार्कमा राखिनेछ । सरकारले गत असार २८ मा चीन पठाएका रुपसी र भद्रलाई चिमे लङ सफारी पार्कमा राखिएको छ ।
एकै लटमा किन पठाइएन दुुई जोडी ?
संकटापन्न वन्यजन्तु सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि साईटिस अनुसार खतराको सूचीमा रहेका कुनै पनि वन्यजन्तु कुनै पनि मुलुकलाई एक पटकमा बढीमा एक जोडीसम्म मात्र दिन पाइने प्रावधान छ । यही सन्धिको बाधा छल्न सरकारले, दुई पटक लगाएर दुई जोडी गैंडा पठाउन लागेको हो ।
सोल्टी र मितिनीसँगै चिकित्सक र प्राविधिक टोली पनि जाने
गैँडाको रेखदेखका लागि पशु चिकित्सक र वन्यजन्तु प्राविधिकको टोली पनि चीन जानेछ। राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक डा अमिर षडौला, चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे सहित कोषका प्राविधिकहरु हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई गैँडासँगै चीन जानेछन् । उनीहरुले सोल्टी र मितिनीसँग चीनमा २ हप्ता बिताउनेछन् । असारमा भद्र र रुपसीसँग चीन गएका पशु चिकित्सक डा कमल गैरे सहित किरण रिजाल, तिर्थ लामा, दिपु चौधरी र विनोद दराई भने फर्किइसकेका छन् ।
केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असारमा, मन्त्रिपरिषद्ले चीनलाई दुई जोडी एकसिंगे गैंडा उपहार दिने निर्णय गरेको थियो ।
सोल्टी र मितिनीसँगै ३० गैंडा विदेशिने
सरकारले चीन सहित ११ वटा मुलुकलाई २८ वटा गैंडा उपहार दिइसकेको छ । सोल्टी र मितिनी सहित ३० वटा गैंडा उपहारको रुपमा विदेशिनेछन् । सरकारले भारतलाई चार वटा, अमेरिकालाई छ वटा सहित जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियालाई दुई दुई वटाका गैंडा दिइसकेको छ । त्यस्तै थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई दुई दुई वटाका गैँडा दिइएको छ । पछिल्लो गणनाअनुसार नेपालका ६ सय ४५ मध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैँडा छन् ।