काठमाडौं । ‘एक दिन त कुत्ताको पनि आउँछ’ भन्ने नेपाली भनाई छ । अर्थात् अवसर कुकुरले पनि पाउँछ भने मान्छेले कसो नपाउला भन्ने हो । तर सधै दिन त कहाँ आउँछ र । सबैभन्दा बढी दिन नेपालमा जुवाडेकै थिए ।
पहिलो पटक कानुनले त्यस्ता जुवाडेलाई ठेगान लगाउन लागिएको हो । यसै पनि कानुनले मात्र होइन समाजमै पनि जुवालाई अपराध मानिएको छ । वर्षौंदेखि अपराध हो भन्ने थापा पाउँदा पाउँदै पनि विभिन्न सेटिङमा जुवाडेहरुलाई समाजका लब्ध प्रतिष्ठित बनाउने काम भइरहेको थियो ।
कानुनको छिद्र खोज्दै जुवा खेल्ने खेलाउने काम देशका विभिन्न भागमा जारी नै छ । उच्चस्रोतका अनुसार नेपालका क्यासिनोमा नेपाली छिराए बापत गृहमन्त्रीदेखि भत्ता पाउन सुरु हुन्छ । स्थानीय नेतासम्मलाई भागबण्डा लाग्ने गर्छ । सुरक्षाकर्मीको भागमा पनि उत्तिकै रकम आइपर्ने बताइन्छ ।
अर्थात् मिलिभगत रुपमा अवैध धन्दालाई बैध बनाइएको छ । खुलेआम गर्न नसक्ने तर अवैधलाई बैध बनाएबापतको कमिशन खाने क्रम वर्षौंदेखि जारी छ । समय समयमा प्रहरीले पक्राउ गर्छ । त्यो पक्राउ केवल सेटिङ मिलाउन हरेक गृहमन्त्री तथा प्रहरी प्रमुखले गराउँदै आएको पीडितहरुको गुनासो छ ।
त्यसैले मोटो रकमको सेटिङमा त्यस्ता जुवा संचालक तथा खेलाडीहरु पटकपटक पक्राउ पर्छन् अनि छुट्छन् । यसलाई फितलो कानुनका कारण भइरहेको भनी यसपटक कानुन कडा गर्न लागिएको छ ।
हुनत अहिलेसम्म जस्तो कानुन छ त्यसकोसमेत धज्जी उडाउने सरकारदेखि प्रशासन नै हो । यसकै कारण निर्धक्क जुवा खेल्नेहरु बढेको देख्न सुन्न पाइन्छ ।
जुवा खेलेकै भरमा कतिपयको घरवार गएको छ । महाभारतमा वाध्यतामा परेर युधिष्ठिरले आफ्नी पत्नी द्रौपदीलाई दाउमा राखेको भन्दै त्यस्ता जुवाडेहरुले आफ्नै पत्नीलाई दाउमा लगाउँछन् ।
वाध्य भएर आफ्नै श्रीमतीलाई अवैध धन्दामा लगाउनेहरु पनि छन् । त्यस्तालाई समेत समाजले सम्मान गर्दै आएको छ ।
के छ नयाँ कानुनमा ?
पहिला जुवा खेल्ने खेलाउनेलाई दुई सय रुपैयाँ जरिवाना र केही दिन हिरासतमा बसे पुग्ने जस्तो फितलो कानुन थियो । भदौ १ देखि जुवा खेल्ने खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।
त्यस्तै दोस्रो पटक जुवा खेले खेलाएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
फेरि पनि अर्थात् पटक पटक पक्राउ परेमा पटकै पिच्छे थप तीन महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरिने छ । नयाँ व्यवस्थाले आफू जुवाको खालमा नरहे पनि अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत समेटिएको छ ।
नयाँ ऐनले सट्टावाजी गर्ने गराउनेलाई निरुत्साहित गराउन उस्तै दण्डनीय बनाउँदै त्यस्तामा संलग्न हुनेलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।
सरकारले लत छुटाउन सकेन
समाजमा विभिन्न त्यस्ता आपराधिक गतिविधि हुँदा पनि त्यस्ता जुवाडे अपराधी र विशेषगरी जुवाको लतमा लागेकाको लत छुटाउनेबारे सरकार मौन बसेको छ । सरकारले कडा कानुन बनाएर अपराध दवाउन खोजेको छ ।
जुवाडेको लत छोडाउन कसैले सोचेन । तर अब लागु हुने नयाँ मुलुकी अपराध ऐनमा जुवा खेल्ने खेलाउने दुबैलाई कडा सजायँको व्यवस्था गरेको छ । वकालत गर्नेहरु सजायँले पनि अपराध नियन्त्रण हुने विश्वास गर्छन् ।
कडा कानुन बनाउँदा निरुत्साहित पक्कै बनाउँछ । यदि पहिले नै कमजोर कानुन भए पनि त्यसलाई कार्यान्वयन गर्दै त्यस्ता अपराधीको नाम खुलेआम रुपले सार्वजनिक गर्न सकेको भए निरुत्साहित गर्न सकिन्थ्यो ।
कुनै पनि चिजको ‘एडिक्सन’ सबैभन्दा खतरनाक हुन्छ । त्यो लत अनपढदेखि प्रतिष्ठितसम्मलाई हुन्छ । भगवानको दर्जा पाएका चिकित्सकमा पनि हुन्छ । उनीहरु पनि मनोरञ्जनको साधन मान्छन् जुवालाई ।
समाधानको उपाय
समाज अपराधयुक्त देखिएको छ । त्यसको प्रमाण नै कडा कानुन बन्न वाध्य हुनु हो । कानुनले मात्र अपराध रोकिने भए मृत्युदण्ड हुने देशमा अपराध कम हुँदै जाने थियो ।
सबैभन्दा ठूलो दण्ड मृत्युदण्ड नै हो । त्यो कानुन भएका देशमा दिनानुदिन अपराध बढ्दो छ । तर जहाँ अपराध र लतका बारेमा गहिरो शिक्षा दिइन्छ र त्यस्तो अपराधमा लाग्नुको सट्टा नैतिकवान काममा लगाउन सरकारले प्रेरित गर्छ तब कुनै एक व्यक्तिमात्र हैन समाज नै परिवर्तन गर्न सकिन्छ ।
नयाँ मुलुकी संहिताले समाजलाई सदाचारी बनाउने बाटोमा भूमिका खेलोस् भन्ने कामना मात्र गर्न सकिन्छ । यो समाधानको बाटो हैन । अवैध रुपले गर्ने कमाइ कहाँ खर्च गर्ने भनेर क्यासिनोदेखि ठूलाठूला जुवाका खालमा बस्नेहरुको पृष्ठभूमिबाट स्पष्ट हुन्छ ।
सरकारले त्यस्ताहरुलाई निगरानीमा राखेर तिनीहरुको सम्पत्ति शुद्धीकरण गरेर सरकारीकरण गर्न सक्नुप-यो । लतमा लागेकाहरुलाई पराशर्मका कक्षाहरु खोल्न सक्नुप-यो । अपराधीबाट उठेको रकम उनीहरुलाई नै खर्च गर्न सकियो भने देशका लागि ज्यान दिनसक्ने जनशक्ति तयार गर्न सकिन्थ्यो ।
अपराध आफैमा प्राकृतिक देन हैन । यो त मानवलाई दानवीय मार्गमा लैजाने एक घृणित माध्यम हो । तसर्थ सरकारले पुलिस बढाएर वा जेलको संख्या बढाएर हैन जीवन सिकाउने मार्ग पहिल्याएर नै त्यस्तो अपराध कम गर्न सक्छ । मानव चोला सिकाएर जीवनलाई सार्थक बनाउन सकिन्छ ।