काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीलाई एक आदर्श राजनीतिज्ञ मानिन्छ । उनको आदर्शले नै उनको नामलाई समेत न्याय दिएको छ । कविताको भावमा उनले गर्ने भाषणले जोकोहीलाई लठ्ठ पार्ने गर्दथ्यो ।
उनको सबैभन्दा राम्रो पक्ष भनेको राजनीतिमा गाली गर्ने चलन हटाए । कसैलाई गाली नगरी अजात शत्रुको राजनीतिक संस्कारलाई उनले परिवर्तन गरे ।
महात्मा गान्धीपछि वाजपेयी वाहीवाही भएका थिए । गान्धी परिवारको ‘लिगेसी’ बाट मुक्त गर्नका लागि पनि उनले निकै ठूलो भूमिका खेले । अर्थात् गान्धी परिवार नै भारत बचाउने एकमात्र परिवार हो भन्ने मान्यतालाई वाजपेयीले मुक्त गरिदिएका थिए ।
उनी तीन पटक प्रधानमन्त्री भए । सो समयमा भारतले आर्थिक फड्को मारेको थियो । प्रतिपक्षीले समेत वाजपेयीलाई सम्मान गर्दथे । उनी कहिल्यै पराजित रहेनन् । १० पटक सांसद भए । सबैभन्दा बढी समय सांसद हुने पहिलो भारतीय उनै हुन् ।
उनमा संस्कार कस्तो थियो भन्ने उदाहरण दिन सन् २००४ मा उनले लिएको सन्यासबाट स्पष्ट हुन्छ । भारतीय जनता पार्टी बिजेपीले राम्रो स्थान हासिल गर्न नसकेपछि वाजपेयीले राजनीतिबाटै सन्यास लिएका थिए ।
वाजपेयीलाई निष्ठावान् राजनीतिज्ञका रुपमा मानिन्छ । उनी अजात शत्रु थिए ।
विदेशमा समेत उनको सम्मान
विदेशीहरु समेत वाजपेयीलाई उत्तिकै मान्दथे । उनलाई विदेशीहरु हाम्रो देशमा आउनु र देश चलाउनु समेत भनेका चर्चा सुन्नमा आउँछ । वाजपेयीलाई विपक्षीले विरलै कालो झण्डा देखाए ।
छिमेकी पाकिस्तानले समेत पनि वाजपेयीको कममात्र आलोचना गर्यो । त्यसैले त वाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री बने ।
विश्वमा जहाँकहीं गठबन्धन सरकार धेरै समय टिक्दैन तर वाजपेयी त्यस्ता प्रधानमन्त्री बने जसले गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने काम गरे ।
२२ दलको सरकार हुँदा पनि उनले त्यसलाई निकै सन्तुलित तरिकाले अगाडि लगेका थिए । उनमा समस्या समाधान गर्ने कला अभूतपूर्व थियो । त्यसैले अटल विहारी वाजपेयी ‘अटल’ छन् भनिएको हो ।
उनले पाकिस्तानसंगको समस्या समाधान गर्नका लागि खुवै प्रयास गरेका थिए । उनले पाकिस्तानी प्रमुखहरुलाई पटक पटक सम्पर्क गर्ने गर्दथे । उनी भन्थे, ‘छिमेकी बदल्न सकिन्न’ ।