काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी एक असल पत्रकार थिए । तीन पटकका प्रधानमन्त्री वाजपेयीले आफ्नो करियरको सुरुवात पत्रकारिताबाट गरेका थिए ।
उनले भारतीय जनता पार्टी बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसंगै पत्रकारिता गरेका थिए ।
उनी पत्रकार बन्नुको पनि विशेष कारण छ । उनको जन्म सन् १९२४ को डिसेम्बर २५ मा ग्वालियरको एक निम्न मध्यमवर्गीय परिवारमा भएको थियो । उनी एक स्कुल शिक्षकको घरमा जन्मेका थिए ।
उनको प्रारम्भिक शिक्षा ग्वालियरको भिक्टोरिया कलेज तथा कानपुरको डीएवी कलेजमा भएको थियो ।
त्यसपछि उनले राजनीतिक विज्ञानमा स्नातकोत्तर गरेका थिए । त्यसपछिमात्र उनको पत्रकारिताको करियर सुरु भएको थियो ।
उनले राष्ट्रधर्म, पाञ्चजन्य र वीर अर्जुनजस्ता पत्रिकामा संपादन गर्दथे । उनी स्कुले जीवनमै ‘राष्ट्रिय स्वयंसेवक संघमा जोडिएका थिए । देशका लागि केही गर्ने उद्धेश्य उनमा जागृत भएको थियो ।
उनले ठाने विचार प्रवाह गर्ने उत्तम विकल्प पत्रकारिता नै हो । अनि लागे पत्रकार बन्न र बने असल पत्रकार ।
एक अन्तर्वार्तामा वाजपेयीले भनेका थिए –सन् १९५३ को समयमा भारतीइ जनसंघका नेता डा श्यामाप्रसाद मुखर्जी कश्मीरलाई विशेष स्थान दिन अनिच्छुक देखिए ।
अनि मुखर्जी जम्मु कश्मीरमा लागु भएको अनुमति पत्र अनिवार्य (परमिट सिस्टम) को विरोध गर्न श्रीनगर गए । त्यो निकै चुनौतीपूर्ण थियो । किनकि एक राज्यको व्यक्ति अर्को राज्यमा जाँदा पहिचान पत्र लिएर जानु पर्ने नियम लगाइएको थियो । मुखर्जी यसको विरोध गर्दै श्रीनगर पुगे ।
यो घटनाको समाचार संकलन गर्न वाजपेयी संगै मुखर्जीसंग गएका थिए । तर दुभाग्र्य मुखर्जीसंग वाजपेयी पनि गिरफ्तारमा परे ।
जब फर्किए तब मुखर्जीले वाजपेयीलाई भने, ‘वाजपेयी तिमी जाउ र दुनियाँलाई बताउ कि म कश्मीर आएको छु बिना कुनै स्वीकृति ।’
यो घटनापछि नजरबन्दमा रहेका डा मुखर्जी बिरामी भएका कारण बिते । वाजपेयी दुःखी भए । तब वाजपेयी राजनीतिमा आए । उनको राजनीति सफल भयो । सन् १९५७ मै वाजपेयी पहिलो पटक सांसद बनेर लोकसभामा गए ।