ललितपुरमा पञ्चदान पर्व मनाइदै, पञ्चदान किन भनिएको ?
प्रकाशित २०७५ भदौ २ शनिबार
672
Shares
ललितपुर । ललितपुरमा शनिबार यल पञ्चदान पर्व मनाइदैछ । विशेषगरी ललितपुरको नेवार समुदायको बौद्ध धर्माबलम्वीले शनिबार पन्चदान पर्व मनाउँदैछन् ।
श्रावण शुक्ल अष्टमीका दिन आजको दिन ललितपुरको विहारहरुमा विभिन्न दिपंकर बुद्धका मुर्ति , बसुन्धरा, करुणामयका मूर्तिहरु तथा शाक्य बज्राचार्यहरुलाई द्रब्य दान दिने महान पर्व पञ्चदान पर्व हो ।
काठमाण्डौं उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा पञ्चदान पर्व एक हो। यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्नेसंग सम्बन्धित छ।
पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी बिभिन्न द्रब्य दान गरिन्छ।
यसका लागि अघिल्लो दिन देखि नै तयारी सुरु हुन्छ । अघिल्लो दिन बिहारका मुर्तिलाई बाहिर बहालमा ल्याएर राख्ने गरिन्छ । यो संस्कृति दानसित सम्बन्धित भएतापनि यस पर्वमा ठूला ठूला दीपंकर बुद्धलाई कुनै प्रकारको खटमा नराखि मूर्तिको भित्र नै मान्छे बसेर जात्रा गरिन्छ।
ललितपुरका १८ वटा विहारका दिपंकरलाई बिभिन्न भेषभुषा र गहनाका साथ सजाएर राख्ने गरिन्छ । रातभर राखेका ति मुर्तिहरुमा पञ्चदानका दिन चामल, गहुँ, नुन केराउ, खीर, फलफुल आदि दान दिने गरिन्छ । दिपंकरका साथै शाक्य तथा बज्राचार्यलाई यी बिभिन्न द्रब्य दान गर्नका लागि नेवार बौद्ध धर्मावलम्बीहरुको भीड लाग्ने गर्छ ।
पञ्चदान किन भनिएको ?
पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ। यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ।
साथै बज्राचार्य, शाक्यहरु पनि घरघरमा गइ दान ग्रहण गर्ने परम्परा रहेको छ । दिपंकर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास रहेको छ । दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध भनिन्छ।
बुद्धले सर्वानन्द राजाको संचित धनमा शोषित पिडितको सम्पति समेत रहेको कारण चित्त शुद्ध भएकी दुःखी बृद्धाबाट पहिले दान लिएको कुरा थाहापाएपछि राजामा धर्मचित्त उत्पन्न भएको विश्वास पनि यो पर्वसँग जोडिएको छ ।
दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ । यो पर्व काठमाडौं उपत्यका लगायत बनेपा पनौति धुलिखेलमा पनि मनाउने गरिन्छ । ललितपुरमा आज मनाएपनि काठमाडौ ,भक्तपुर लगायतका स्थानमा आउने भाद्र कृष्ण त्रयोदशीका दिन मनाइन्छ । बज्राचार्य, शाक्य तथा चैलकहरुलाई धान, चामल, मकै , गहुँ, सानो केराउ, नुन,रोटी ,खिर लगायत दान गरी प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौमा पनि जुगच¥ह्े भन्दै पन्चदान पर्व मनाउने गरिन्छ ।बौद्ध धर्मावलम्वीले बहाबही वा आफ्नै घरमा दिपंकर बुद्ध, बसुन्धरा, करुणामयका मूर्तिहरु सजाएर दिनभर पन्चदान गर्ने प्रचलन छ ।
पञ्चदानको सूरुवात र दान गर्ने परम्परा
नेपालमा दान गर्ने परम्परा लिच्छवि राजा वृषदेवको समयदेखि नै थियो भन्ने कुरा विभिन्न अभिलेखहरुमा पाइन्छ। मानदेव, शिवदेव, अंशुवर्मा लगायतका लिच्छवि राजाहरुको पालामा मात्र नभई मल्लकालमा पनि यस परम्परालाई विभिन्न गुठिहरुको व्यवस्था गरी पर्वहरुको व्यवस्थापन गरेको पाइन्छ। बौद्ध संस्कृति क्षेत्रमा यसको छुट्टै महत्व छन्। ऐतिहासिक तथ्य अनुसार यो पर्व प्रत्येक वर्ष निश्चित समयमा नियमित रुपमा हालसम्म भव्यताका साथ चलि आएका छन्।
बौद्ध समाजमा आफनो आयको केही अंश दान दिन भनि छुट्याउने प्रचलन छ। आफनो आयको केही भिक्षु संघ, विहार संघलाई भोजन दान, वश्त्रदान, औषधी आदि दैनिक प्रयोगका लागि आवश्यक बस्तुहरु दान दिने गरिन्छ। यसका साथै आजका दिन विहार, वही तथा बिभिन्न सम्पदाहरुको संरक्षण गर्न पनि समुदायका सदस्यहरुले श्रमदान गर्ने, भौतिक बस्तुहरु प्रदान गर्ने परम्परा रहेको छ।