arrow

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

logo
सञ्चिता घिमिरे,
प्रकाशित २०७५ भदौ ३ आइतबार
smart-licence.jpeg

ललितपुर । ग्वार्को बस्दै आएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उनको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।

उनले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गरेका छन् । उनले सधैँ जवाफ नकारात्मक नै पाउछन् । गत साता भने उनि कार्यालयमा नै आफ्नो अनुमतिपत्र कहिले आउँछ भन्ने बुझ्न आएको भेटिए  । उनले भने, “अझै पनि कहिले आउँछ भन्ने टुङ्गो छैन भन्ने जवाफ पाएँ ।”

यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयबाट चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण भएका थापाजस्ता झण्डै चार लाख जनाले अनुमतिपत्र पाएका छैनन् । नौ महिना पहिले परीक्षा पास गर्ने सेवाग्राहीसमेत चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास भएर सरकारलाई तिरेको राजश्वको कागज लिएर हिँड्छन् ।

विभागमा छाप्ने उपकरण (मेशिन) कमीका कारण धेरै सेवाग्राहीले हैरानी बेहोरेका छन् । एकातिर उनीहरुले परीक्षा उत्तीर्ण भएको लामो समय बित्दासमेत अनुमतिपत्र पाएका छैनन् भने अर्कातिर ट्राफिक प्रहरीले सडकमा रसिदका भरमा चलाउँदा अनुमतिपत्र नै माग्ने गरेका छन् ।

सातदोबाटोकी मैना अर्यालले छ महिना पहिले नयाँ स्कुटर किनिन् । सामान्य चलाउन जानेपछि उनले प्रशिक्षण केन्द्रमा गएर ‘ट्रायल’(चालक प्रयोगात्मक परीक्षा) का लागि सिकेकि थिइन् । उनले पहिलो पटकमा नै परीक्षा पास पनि गरिन् । तर परीक्षा पास गरेको पाँच महिना बितिसक्दासमेत चालक अनुमतिपत्र पाएकी छैनन् । उनि भन्छिन् , “ परीक्षा उत्तीर्ण गरेर पनि ढुक्कसँग चलाउन पाएको छैन ।”

चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको रसिद बोकेर नै अर्यालले स्कुटर चलाउने गरेका छन् । एक पटक रसिद कपडा धुँदा च्यातिएर गयो । निवेदन दिएर बल्ल रसिदको प्रतिलिपि लिएको उनले बताए । उनि भन्छन् , “फेरि पनि च्यातिर जाने अवस्थामा पुगिसक्यो ।” उनले केही समय पहिले भने त्यही च्यातिन लागेको रसिद ‘लेमिनेसन’ गरेर बोक्न थालेका छन्  ।

सेवाग्राहीलाई परेको समस्याका बारेमा जानकारी भएर पनि केही गर्न नसकिएको वाग्मती अञ्चल कार्यालयका सूचना अधिकारी भक्त विष्टले बताए । यहाँबाट लिइएको परीक्षा पास गरेको लामो समय बित्दासमेत सेवाग्राहीले प्रमाणपत्र पाएका छैनन् । उनि भन्छन् , “भएका उपकरण अपुग भए थपेर पनि सेवाग्राहीलाई चाँडो सेवा दिनुपर्छ ।”

आफूले राजश्व तिरेको लामो समय हुँदासमेत चालक अनुमतिपत्र नपाएको भन्दै धेरै जना सेवाग्राही कार्यालय आउने गरेका छन् । कतिपयले नम्र भाषामा त कति सेवाग्राही त झगडा गर्ने उद्देश्यले आइपुग्ने सूचना अधिकारी विष्टले बताए । उनि भन्छन् , “समयमा दिन नसक्नु हाम्रै गल्ती हो । त्यसैले चुप लागेर बस्नुपर्ने अवस्था छ ।” पटक–पटक यहाँ आइरहेका सेवाग्राही बढी रिसाउने गरेका छन् ।

सेवाग्राहीलाई धेरै खालका समस्या परेको विष्टले बताए  । कतिपय सेवाग्राही विदेश जानका लागि चालक अनुमतिपत्र बनाएका छन् । उनि भन्छन् , “प्रवेश आज्ञा आइसक्दासमेत चालक अनुमतिपत्र नआउँदा उनिहरुलाई समस्या छ ।”

सडकमा ट्राफिक प्रहरीले समय–समयमा कागजपत्र जाँच गर्छन् । चालक अनुमतिपत्रमा जस्तो फोटो नहुँदा आफ्नै हो भनेर विश्वास दिलाउन गाह्रो पर्ने सेवाग्राहीले कार्यालयका कर्मचारीलाई बताउने गरेका छन् । अनुतिपत्रजस्तो बलियो नहुँदा रसिद च्यातिने वा भएका कुरा मेटिँदा धेरै सेवाग्राहीले त्यसको प्रतिलिपि समेत लिएका छन् । उनि भन्छिन् , “रसिदकै प्रतिलिपि लिनेसमेत गर्दा यहाँ सेवाग्राहीको चापसमेत बढ्छ ।”

नेपाल सरकारले तीन वर्ष पहिले वाग्मती अञ्चल कार्यालयबाटै ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण थालेको थियो । अरु अञ्चल कार्यालयमा पुरानो खालको चालक अनुमतिपत्र वितरण गर्दा पहिले ‘स्मार्ट चालक अनुमतिपत्र’ लिनकै लागि कार्यालयमा भीड थियो । अघिल्लो वर्षसम्म अरु अञ्चल कार्यालयको सेवासमेत नियमित थिएन । उनि भन्छन् , “कहिले खुल्ने र कहिले बन्द हुने हुँदा धेरै सेवाग्राही यही आउने गरेका थिए ।”

अघिल्लो आर्थिक वर्षबाट सबै अञ्चल कार्यालयले ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण गरिरहेको सूचना अधिकारी बिष्टले बताए । ती कार्यालयले नियमित सेवा दिँदा यहाँको चाप कम हुँदै गएको छ । अझैसम्म अरु १३ वटा कार्यालयमा जत्तिकै यहाँको एउटा कार्यालयमा सेवाग्राहीको चाप रहेको उनि बताउछन् । वाग्मति अञ्चल कार्यालयले अहिलेसम्म दुई लाखको हाराहारीमा चालक अनुमतिपत्र वितरण गरिसकेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ