अपाङ्गता भएका ब्यक्तिहरु सम्मानित, हौसला मिलेको प्रतिक्रिया
प्रकाशित २०७५ भदौ ६ बुधबार
228
Shares
काठमाडौं । अपाङ्गता भएका ब्यक्तिहरु सम्मानित भएका छन् । अपाङ्गता भएर एसइइ परीक्षामा उत्तीर्ण बिद्यार्थी तथा समाजका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरिएको हो ।
नेपाल बिद्यार्थी संघ, केन्द्रीय अपाङ्ग बिद्यार्थी समन्वय समितिको आयोजनामा सम्मान गरिएको हो । सम्मान पाउनेहरुमा एइइ परिक्षा देशभरबाट उत्तीर्ण भएका बिद्यार्थीहरु लगायत अपाङ्गता कोटामा राष्ट्रिय सभामा अपाङ्गता कोटाबाट निर्वाचित सांसद प्रकाश पन्थी, अपाङ्गता कोटमा निर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाई, दुबै हात गुमाएका खुट्टाले लेखेर स्नातक उत्तरसम्म अध्ययन गरिसकेका विगेश बज्राचार्य, अति असक्त वालबालिकालाई घरमा नै पुगेर अध्यापन गराउँदै आएका सुमन पलिखेल लगायतलाई सम्मान गरिएको थियो ।
‘सबै मानिसलाई शारीरिक बनावटको आधारमा असमान ब्यवहार गर्न पाइँदैन । हामी सबै मानव समान हौं, भेदभाव गर्न पाइदैन ।’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने । अपाङ्गता भएका ब्यक्तिहरुलाई पार्टीको तल्लो तहसम्म प्रतिनिधित्व गराउन पहल गर्ने समेत नेता पौडेलले बताए ।
सम्मानित व्यक्तिहरुले यो पुरस्कारले आफूलाई उर्जा थपेको बताए । उनीहरुले आफ्नो स्थानबाट सक्दो योगदान दिने पनि प्रतिवद्धता जनाए । अपांगता भएका व्यक्तिहरुमा पनि इच्छाशक्ति भए समाजलाई योगदान दिन सक्ने प्रमाणका रुपमा यसलाई लिइएको छ ।