पार्टीभित्रको गुटबन्दीले नेता कार्यकर्ता विभाजित भए : महामन्त्री कोइराला
प्रकाशित २०७५ भदौ ६ बुधबार
213
Shares
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले बुधबार यहाँ गरेको पत्रकार सम्मेलनमा उनले भने 'पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने कांग्रेस झन कमजोर हुन्छ, कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ।'
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन भने।
यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए ।
त्यस अवसरमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए ।
भेलामा बाँके कांग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेको लगायतका गुनासा राखेका थिए । रासस