निर्मलाका मुख्य हत्यारा खोइ ? हजारौं कञ्चनपुरबासी सडकमा
ईश्वरदत्त बडू
प्रकाशित २०७५ भदौ ७ बिहिबार
230
Shares
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरण बिरुद्ध कञ्चनपुरबासीले सडक तताएका छन् । जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाममा हजारौँको सङ्ख्यामा प्रदर्शनकारी आएर बिहानैदेखि सडकमा टायर बालेर बिरोध गरेका छन् ।
प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड उग्र बन्दै गएको हो । बिहिबार पनि बिहानैदेखि कञ्चनपुर आन्दोलनमयी बन्दै गएको छ । पुर्वपश्चिम महेन्द्रराजमार्ग महेन्द्रनगरदेखि कृष्णपुरसम्मको सडकमा ठाउँठाउँ टायर बालेर स्थानीयले प्रर्दशन गरेका छन् ।
कञ्चनपुरका स्थानीय अगुवा युवा रमेश ठगुन्नाले सरकारले घटना ढाकछोप गर्ने षड्यन्त्र गरेको भन्दै त्यसको बिरुद्धमा स्थानीय स्वतः सडकमा आएर आगो बालिरहेको बताए ।
पुर्वपश्चिम महेन्द्र राजमार्गको ठाउँ ठाउँमा प्रर्दशन हुँदा यातायात समेत ठप्प भएको छ । भने बजार बन्द पुर्ण भएको छ । यातायात र बजार बन्दका कारण यात्रु र उपभोक्ता मारमा परेका छन् । यात्रु पैदलै हिडेर गन्त्व्यमा गईरहेका छन् ।
बिहानैदेखि राजमार्ग र बजार क्षेत्रमा स्थानीय, व्यवसायी, महिला , युवा विद्यार्थीले वास्तविक अभियुक्त सार्वजनिक नगरेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्काएका छन् । १० बर्षअघि आफ्नै भिनाजुको हत्या गरे मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ बर्षिया दिलिपसिंह विष्ट अभियुक्त नभएको भन्दै मंगलबारदेखि आन्दोलनमा उत्रिएका थिए ।
बुधबार मृतक निर्मलाकी साथी रोशन बमको घरमा आन्दोलनकारीले ढुङगामुढा प्रहार गरेका थिए । ढुङगामुढा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् । बम दिदीबहिनीले घटना लुकाउन खोजेको भन्दै उनीहरुले बम घरको मुल गेटमा टायर बालेर आन्दोलन गरेका थिए ।
हजारौँको संख्यामा बम निवास पुगेका प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई घण्टा समय लगाएको थियो । लालपुर बजार व्यवस्थापन समितिका अध्यक्ष भान विष्टले घटना बङग्याउन खोजेकाले स्वतः बजार बन्द गरेर सडकका आएको बताए ।
प्रहरीले सार्वजनिक गरेका व्यक्ति अपराधी नभएको दावि गर्दै घटनाका वास्तविक दोषिलाई सार्वजनिकको माग राखेर आन्दोलनमा उत्रेको बताए । हत्यारालाई सरकारले लुकाएको भन्दै नक्कली हत्यारालाई सार्वजनिक गरेको स्थानीयको आरोप छ ।
कञ्चनपुर प्रहरीले रोशन बम र बविता बमका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । घटना घटेदेखि दुवै बमदिदि बहिनी प्रहरीकै निगरानीमा रहेको जनाउदै कञ्चनपुर प्रहरीले सर्वदलिय सर्वपक्षिय सहमती अनुसार उनीहरुका विषयमा सुक्ष्म अनुसन्धान भईरहेको जनाएको छ ।
कञ्चनपुर प्रहरीले बालिका निर्मला पन्त हत्याको आरोपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिया दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
होमवर्क गर्छु भन्दै साथी रोशन बमको घर गएकी निर्मला पन्त ११ साउन शुक्रबारका दिन बिहान उखुबारीमा मृत फेला परेकी थिईन् । आन्दोलनकारीले कञ्चनपुरका एसपी, डिएपी र डिडिओको सरुवाको माग बमोजिम गृहमन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टलाई तानेर एसएसपी बिक्र चन्दलाई पठाएको छ ।
एसएसपी चन्दले बिहीबारदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्ने भएका छन् ।