arrow

अपजसे एसएसपी चन्द पुगेकै दिन कन्चनपुरमा गोली चल्यो र कर्फ्यू लाग्यो

टीकापुर घटना नदोहोरियोस् !

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
bikram-chand.jpg

काठमाडौं ।  सुदुरपश्चिमको कैलाली टीकापुरमा ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी हत्याकाण्ड भएको ठीक ३ वर्षपछि, आजकै दिन सुदुरपश्चिमकै अर्को जिल्ला कन्चनपुरको महेन्द्रनगरमा गोली चलेको छ । पछिल्लो विवरण अनुसार प्रहरीले हानेको गोली लागेर १० जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले गोली चलाउँदा अर्जुन भण्डारा, सन्तोष कुमार कडरिया, तेजराज भट्ट सहित मनोज बुढा, सञ्जय खड्का, कृतप्रसाद भण्डारी, महेशराज भट्ट र हर्क बहादुर पाल लगायत घाइते भएका छन् । भण्डारालाई थप उपचारको लागि भारत पठाइएको छ । अरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफुतर्फ पनि २ जना घाइते भएको जनाएको छ । प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान थालेपछि, जिल्ला सुरक्षा समितिको बैठकले महन्द्रनगरमा बिहिबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा “वास्तविक दोषी” लुकाएर फर्जी हत्यारा देखाएको भन्दै महेन्द्रनगरबासीले कन्चनुरका प्रहरी प्रमुख डिल्लीराज विष्टको बर्खास्ती मागिरहेको बेला, डोटीको दिपायलमा कार्यरत एसएसपी विक्रम चन्दको कमाण्डमा कन्चनपुरमा प्रहरी परिचालन गरिएको छ । हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी चन्दलाई खटाइएको छ । तर संयोग कस्तो परेको छ भने एसएसपी चन्द महेन्द्रनगर गएकै दिन प्रदर्शनकारीमाथि गोली चलाइएको छ ।

गोलीकाण्डको संयोग
२०७२ भदौ ७ गते टीकापुर घटना हुँदा विक्रम बहादुर चन्द एसपी थिए, कैलाली प्रहरीको प्रमुख थिए । तीन वर्षअघि आजकै दिन टीकापुरमा भएको घटनामा २ वर्षे बालक टेकेन्द्र साउद र एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जनाको ज्यान गएको थियो ।

२०७१ को भदौमा काठमाडौंबाट सुरुवा भएर कैलाली पुगेका चन्दकै कार्यकालमा २०७२ भदौ ७ गते सुरक्षाकर्मीतर्फ ठूलो क्षति भएपछि, कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका डिआईजी रामकुमार खनाल र सशस्त्र प्रहरीका डिआईजी खडानन्द चौधरीलाई २४ घण्टा भित्र काठमाडौं झिकाइएको थियो।

 गृहमन्त्रालयले तत्काल सीडीओमा मोहनबहादुर चापागाई, नेपाल प्रहरीको सुदूरपश्चिम प्रमुखमा डिआईजी माधव नेपाल र सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियामा डिआईजी सुरेश श्रेष्ठलाई खटाएको थियो । तर तत्कालिन एसपी चन्दलाई त्यहीँ राखिएको थियो ।

उनी २०७२ को असोजमा काठमाडौं सरुवा भए । १३ असोजमा जिल्ला प्रहरी कार्यालयमा राखिएको विदाइ कार्यक्रममा टीका र फूलमाला नलगाइ उनी विदा भए । त्यो बेला उनले भनेका थिए, ‘क्रुर घटनामा कमाण्डर ढल्नुभयो । यो अवस्थामा म कसरी फूलमाला र टीका ग्रहण गरेर बिदाई हुँ ?’

टीकापुर घटनाको ३ वर्ष पुगेकै दिन उनी तनाबग्रस्त अवस्थामा महेन्द्रनगर पुगेका छन् । उनी जाँदाजाँदै गोली चलेको छ । आन्दोलन थप उग्र बन्न थालेको छ । चन्दले कमाण्ड सम्हालेको बेला टीकापुर घटना महेन्द्रनगरमा नदोहरियोस् !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ