प्रकाण्डलाई फेरि हत्कडी : यो पल्टको गिरफ्तारी डा. महत चढेको जीपमा विष्फोट गराएकाले
प्रकाशित २०७५ भदौ ७ बिहिबार
234
Shares
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा दोस्रो पटक पनि अदालत परिसरबाटै पक्राउ परेका छन् । विहीबार सर्वोच्च अदालतले छाड्न आदेश दिएलगत्तै उनलाई प्रहरीले अदालत परिसरबाटै दोश्रो पटक पक्राउ गरेको हो ।
उनी नाटकीय रुपमा एक पछि अर्को मुद्दामा पक्राउ परे । विश्वकर्मा यो पल्ट गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावका क्रममा नुवाकोटको ककनीमा कांग्रेस नेता डा.रामशरण महत चढेको जीपमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका हुन् ।
यसअघि धुलिखेलमा थुनामा बसेका उनलाई थुन्न यो पल्ट नुवाकोट लगिएको छ । मंसिर १ गते विप्लव समूहले गराएको बम विष्फोटमा कांग्रेसका तीन कार्यकर्ता घाइते भएका थिए ।
विश्वकर्मालाई सुरुमा प्रहरीले जबरजस्ती चन्दा असुलेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई छोरा नरेन्द्रले दिएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाईपछि सर्वोच्चले छाड्न आदेश दिएको थियो । अदालतले आदेश दिएलगत्तै उनी काभ्रेको क्रसर उद्योगमा विष्फोट गराएको आरोपमा पक्राउ परे ।
यो पल्ट पनि सर्वोच्चले विनाकारण थुनामा राखेको भन्दै छाड्न आदेश दिएलगत्तै प्रहरीले फेरि अदालतबाटै पक्राउ गरेको हो । उनलाई जबरजस्ती चन्दा असुलेको आरोपमा प्रहरीले साउन २३ गते काठमाडौंको चाल्नाखेलबाट चालक र सहयोगीसहित पक्राउ गरेको थियो । चालक र सहयोगीलाई प्रहरीले त्यही दिन छोडेपनि उनलाई भने फन्फन्ती घुमाईरहेको छ ।