कञ्चनपुरकी निर्मला हत्या र प्रहरी दमन बिरुद्ध बोल्यो काँग्रेस
सरकारको वर्वर दमनको विरुद्धमा बोले काँग्रेस नेता लेखकले
प्रकाशित २०७५ भदौ ७ बिहिबार
591
Shares
काठमाडौं। नेपाली काँग्रेसले कञ्चनपुरमा बलात्कार पछि मारिएकी निर्मला पन्तको हत्याराको अनुसन्धानको बिषयमा चित्त नबुझाएका स्थानियहरुले गरेको प्रदर्शनमा भएको प्रहरी दमनको नेपाली काँग्रेसले निन्दा गरेको छ।
नेपाली काँग्रेसले एक विज्ञप्ती निकाली जनप्रदर्शन पछिल्तिरका भावनाहरुलाई सरकारले संयमित पूर्वक आत्मसात गर्नु पर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जन भन्दा बढीलाई घाइते बनाउने र कर्फ्युकै अवस्था सृजना गर्ने कार्यको निन्दा एवं भत्सर्ना गरेको छ।
पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले निकालेको विज्ञप्तीमा अवोध बालिकाको बलात्कार पश्चातको हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनु पर्ने दायित्व सरकारको भएको स्मरण गराइएको छ।
अनुसन्धानमा ढिलाई र कमजोरी हुँदा त्यसले सम्बन्धित परिवारजनलाई चोट त पुग्छ नै गाउँ समाजनै आक्रोशित बन्ने अवस्था बन्छ भन्दै विज्ञप्तीमा भनिएको छ, ' कुनै निर्दोषलाई दोषी भनेर करार गरिएको आशंका हुँदा त्यसले झनै विद्रोह जन्माउँछ । '
कञ्चनपुर जिल्लामा बिहिवार भएको घटना र यसको पृष्ठभूमि सम्बन्धमा नेपाली काँग्रेसले नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराएको छ।
काँग्रेसले उच्चस्तरीय छानविन समिति मार्फत समग्र घटनाको गहन र निष्पक्ष छानविन गर्न सरकार समक्ष माग गरेको छ। साथै घाइतेहरुको सम्पूर्ण उपचार गर्न समेत सरकारलाई नेपाली काँग्रेसले आग्रह गरेको छ।
सरकारको वर्वर दमनको विरुद्धमा बोले काँग्रेस नेता लेखकले
गैरआवासिय नेपाली संघ एनआरएनको क्षेत्रीय सम्मेलनका क्रममा दुबईमा रहेका काँग्रेस नेता रमेश लेखकले न्याय माग्न शांतिपूर्ण प्रदर्शन गर्ने क्रममा सरकारको बर्बरतापूर्ण दमनको कारण गोली लागि घाइते भएका सबै स्थानियको स्वास्थ्यलाभको कामना गरेका छन्। लेखकले गम्भीर घाईते भएका स्थानिय अर्जुन भण्डारीको उपचारमा विषेश ध्यान दिन आग्रह गरेका छन्।
लेखकले कंचनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारी र हत्यारा जोगाउन नक्कली मानिस तयार गरि न्याय माग्ने जनतालाई गोली हानिएकोमा आक्रोश व्यक्त गरेका छन्। उनले सरकारलाई यस्ता अमानवीय, क्रुर, आपराधिक र दमनकारी कार्य बन्द गर्न, तत्काल वास्तविक अपराधी पत्ता लगाउन र जनतामाथि गरिएको दमनकारी घटनाको न्यायिक छानविनका लागि माग गरेका छन्।