बुटवल । पर्यटकीय गन्तव्यको रुपमा रहेको सैनामैनामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक मूर्ति भेटिएको छ । बज्रयानी शाखाका योगी मानिएको उनको सबैभन्दा ठूलो मूर्ति बुटवल र सैनामैनाको सीमामा रहेको बौराहा खोलामा फेला परेको समाजसेवी अध्ययनकर्ता रामप्रसाद भट्टराइले जानकारी दिए ।
यी मूर्ति बुद्धकालीन हुन वा होइनन् भन्ने कुरा पुष्टि भइसकेको छैन । उनले त्यस बाहेक पाँचवटा साना मूर्ति स्थानीयवासीले भेटाएर सैनामैना नगरपालिका– १ स्थित सङ्ग्रहालयमा राखेको र कतिपय व्यक्तिले घरमा नै लगेर पूजा गरेर राखेको बताए । भेटिएका सबै मूर्ति योग मुद्रामा रहेको बताइएको छ ।
उनलाई हिन्दू धर्मबलम्वीले मच्छ्रेनाथको रुपमासमेत मान्ने गरेको जिकिर गर्दै भट्टराइले बुटबलस्थित चारपाला सामुदायिक वनको जोगीटारमा धातुको सानो बुद्धको मूर्ति फेला परेको उल्लेख गरे।
प्राचीन शाक्यको कपिलवस्तु राज्यको भौगोलिक क्षेत्रभित्र पर्ने विभिन्न उत्पादनशील गाउँमध्ये सामगाम नामलाई नै कालान्तरमा सैनामैना भनिएको र मायादेवीले यहाँकी मैना नाम गरेकी रानीसँग सैना ९मितेनी० लगाएकोले सैनामैना भन्न थालिएको संस्कृतिविद डा गितु गिरीले लेखेको वृहद लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा पुस्तकमा उल्लेख छ ।
सैनामैना नगरपालिकामा कालीदह, पर्रोहा परमेश्वर मन्दिर, काललोचन मन्दिर, मलमला मन्दिरलगायतका विभिन्न धार्मिक तथा ऐतिहासिक, सांस्कृतिक पर्यटनको सम्भावना रहेको बताइएको छ । रासस