मानव भएर जन्मिएपछि जिन्दगीमा एकपटक दर्शन गर्नुपर्ने ठाउँ
प्रकाशित २०७५ भदौ १० आइतबार
473
Shares
रसुवा । भगवान् शङ्कर विराजमान रहेको विश्वास गरिने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यही भदौ ६ गते पुत्रदा एकादशीदेखि लागेको विशेष मेला भर्न हजारौँ भक्तजन निलाद्री पर्वत पुगेका छन् ।
पौराणिक कथनअनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष निस्केको र त्यो विष छोडी दिँदा सम्पूर्ण चराचर प्राणीजगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि शङ्कर भगवान्ले विषपान गरी घाँटीमै राखेर प्राणी जगत्लाई रक्षा गरेकाले मानव भएर जन्मिएपछि जिन्दगीमा एकपटक गोसाइँकुण्डको दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।
उग्रविषले शङ्कर भगवान्को घाँटी पोलेपछि शीतल ठाउँ र चिसोपानीको खोजी गर्दै भौंतारिएर निलाद्री पर्वत पुगेर विश्राम लिएका थिए । हाल सो स्थानलाई गोसाइँकुण्डको नामले पुज्ने गरिन्छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने यस पवित्र तीर्थस्थलमा प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १० गते जनैपूर्णिमा पर्वका अवसरमा करीब आठदेखि १० हजार भक्तजनले कुण्डमा स्नान गर्ने अनुमान गरिएको छ । यात्रुका लाभालस्करका आधारमा अनुमान गरिएको हो । यात्रुको खाने, बस्ने व्यवस्थासमेत स्थानीय व्यवसायीले गरेका छन् ।
पवित्र पौराणिक धार्मिक गोसाइँकुण्डमा पूजा आरधना गर्नाले मनोकाङ्क्ष पूरा भई धनधान्य हुने जनविश्वासअनुरुप श्रद्धालु भक्तजन काठमाडौँ गल्छी, देवीघाट त्रिशूली धुञ्चेसम्म मोटर र त्यसपछि पैदलयात्राबाट चन्दनबारी लौरीविनायक एवं गणेश गौडाको तेर्सो ककरो भिर हुँदै गोसाइँकुण्ड पुग्ने गरेका छन् ।
यस वर्षको पर्व यही भदौ ६ गते पुत्रदा एकादशीदेखि १० गते ऋषितर्पणी (रक्षा बन्धन) को दिनसम्म लाग्ने र दशहरा पर्वभन्दा जनैपूर्णिमा पर्वमा भक्तजनको बढी आगमन हुने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।
पौराणिक धार्मिक कुण्डमा स्नान गर्दा उकालो हिँड्दा लागेको थकाइ समाप्त भई शरीर हलुङ्गो हुनुका साथै नयाँ उमङ्ग पैदा हुने गरेको कुण्डबाट फर्केका यात्रुले बताएका छन् ।
ऋषितर्पणी (जनैपूर्णिमा) को महत्व भने विशेष रहेको पण्डितले बताएका छन् । पूर्णिमा पर्वका दिन संसारका देवीदेवता महादेव भेट्न र उपदेश लिन गई बास बस्ने र त्यो दिन कुण्डमा पूजा गर्दा सम्पूर्ण देवीदेवताको समेत दर्शन पाइने विश्वास रहिआएको छ ।
भगवान् शङ्कर जटाधारी भएकाले त्रिशूल बसाह चढाउने, धुपबत्ती बाली जौ तील अबीर, केशरीले पूजा गर्ने परम्परा रहिआएको छ । स्वाँस्वाँ फ्याँफ्याँ हुने समस्या भई उकालो चढ्न नसक्ने भक्तजनका लागि धुञ्चेबाट एक घण्टाको दूरीमा रहेको मानव निर्मित कुण्डमा स्नान गर्ने चलन बस्दै आएको छ । जुन ठाउँ भगवान्ले निलाद्री पर्वत पुग्नुपूर्व विश्राम गरेको पवित्र भूमि भएको र सानो गोसाइँकुण्डको नामले परिचित रहेको छ ।
कुण्डमा पुगेर मागेका सबै बर पाइने र अञ्जानमा गरेका सबै पापसमेत समाप्त भई नयाँ जोस, जाँगर बढ्न गई भगवान्ले दिएको सद्वुद्धिबाट पारिवारिक सन्तुुलन आउने, गाउँ समाजमा मठमन्दिर निर्माण सामाजिक कार्यमा समेत जागरण आउने विश्वास गरिएको छ ।
यस वर्षको मेला भर्न नवलपरासी, ताप्लेजुङ, सिन्धुपाल्चोक, रौतहट, पर्सा, मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, नुवाकोट र रामेछापसमेतका जिल्लाबाट भक्तजन पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।