पाटन । ललितपुरको पाटनमा तीन दशकपछि सुरु भएको लाखे नाँच जनै पूर्णिमाका दिन कुम्भेश्वरमा प्रर्दशनी हुँदैछ । हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि ईन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाँच देखाउने परम्परा अनुसार जनै पूर्णिमा र गाइजात्राका दिन कुम्भेश्वर र मंगलबजारमा नाँच देखाइने कलाकार उत्तम रत्न शाक्यले बताए ।
पाटनको सौगलबाट सुन्धारा ओकुबहाल, गाबहाल, पुर्णचण्डी, नकबहील, मंगलबजार, हखाःबजार हुँदै सौगलमै पुगेर समापन हुने गरेकोमा जनै पूर्णिमामा कुम्भेश्वरमा बिशेष मेला लाग्ने भएकाले त्यहा देखाउन लागिएको हो ।
स्थानीय यल लायकू मिप्वाः लाखे पुचःले आफनै सदस्यहरुसंग पैसा उठाएर यो नाँच ललितपुरको पाटन क्षेत्रमा यसपालीदेखि देखाउन थालेको छ । ललितपुरको पाटनमा यो नाच हराएको करिब ३ दशक नाघिसकेको थियो ।
घण्टाकर्ण चर्तुदशीका दिनदेखि निरन्तर रुपमा पाचदिनसम्म यो नाँच प्रर्दशनी भएको थियो । लाखे अर्थात राक्षसको भेषमा एकजना र उसलाई जिस्काउने एक झयालिन्चा वा तिनपाकुचा अर्थात तीन फुटको होचो रमाइलो गर्ने जिस्काउने गरी दुई जनाले नगर परिक्रमा गरी समुदायलाई मनोरन्जन दिने गरेका छन ।उपत्यकामा रोपाई सकेर मानिसहरु फुर्सदिलो हुने भएकाले यो समयमा मनोरन्जन प्रदान गर्न लाखे नाच घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म देखाउने परम्परा छ ।
रोपाईका बेला खान र बस्न ठेगान नहुने र काम मात्रै गर्नुपर्ने भएकाले यसपछि खानपिन र रमाइलो गर्ने भन्दै यस्तो नाँच देखाउने गरेपनि दशकौदेखि नाँच लोप भएकाले यसलाई जिवन्त पार्ने प्रयास गरिएको समुहका नृत्य निर्देशक तथा कलाकार उत्तम रत्न शाक्यले बताए ।
घण्टाकर्ण चर्तुदशी देखि देखाउन थालेको यो नाँच जनैपुर्णिमा र गाइजात्रामा देखाएपछि कृष्णाष्टमी तथा ईन्द्रजात्रामा देखाउने लक्ष्य रहेको शाक्यले बताए । समूहका सदस्यहरुले लामो समयदेखि यो नाँच पाटनमा हेर्न नपाएकाले यो नाँच लोप हुन बाट जोगाउने काम आफैबाट सुरु गर्ने भन्दै ६ जना कलाकारलाई यससम्बन्धि तालिम दिई पालो पालो नाँच देखाउन थालेका हुन ।
सुरुमा यो नाँच देखाउन आवश्यक पर्ने रकम समूहकै सदस्यहरुले २ सय देखि ३ सय सम्म उठाएर संस्कृति संरक्षणको प्रयास गरिएको उनको भनाइ छ । यो नाँचमा कोशीश ताम्राकार र पूजन श्रेष्ठ राक्षसका भेषमा तथा रेगन मुल्मी र सुप्रिम शाक्य झ्यालिन्चा वा तिनपाकुचा का भेषमा नुत्य प्रर्दशन गर्ने गरेका छन् । यसैगरी नाँचमा चिलाख वा आगोको लप्का समाउने व्यक्ति र बाजागाजा बजाउने गरी ३० जना सहभागि छन् ।
जनै पुर्णिमाका दिन ललितपुरको कुम्भेश्वर मन्दिरको शिवलिंगलाई संगैको पोखरीमा पानी जम्मा गरी राख्ने परम्परा छ । पोखरीमा गोसाइकुण्डबाट आएको मुलको पानी जम्मा गरी यो दिन विशेष मेला भर्न उपत्यकाका बिभिन्न स्थानबाट जम्मा भएका छन । यही मेला हुने स्थानमा ३ दशकपछि लाखे नाँच प्रर्दशनी गर्न लागेको हो ।
दिउँसो २ बजेपछि प्रर्दशनी हुने नाँच सौगल टोलबाट सुरु भई विभिन्न स्थान हुदै मंगलबजार दरबार क्षेत्र भई कुम्भेश्वर पुग्ने र फेरी विभिन्न नगर परिक्रमा गरी सौगलमै पुगेर टुंगिनेछ । वुधबार गाइजात्राका दिन पनि लाखे नाँच गरेर नगर परिक्रमा गराइनेछ । उपत्यका लगायतका विभिन्न नेवार बस्ती भएका स्थानमा घण्टाकर्ण चर्तुदशी देखि ईन्द्रजात्रासम्म लाखे नाँच प्रर्दशनी गर्ने परम्परा छ ।