लम्की, कैलाली। अज्ञात समुहको निर्घात कुटपिटका कारण कैलालीको लम्कीमा एक जना गम्भीर घाईते भएका छन ।
लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुर चोकदेखि आफ्नो घर लम्की थपालीपुरमा अटो रिक्सामा जादै गरेका बिरवल खत्रीलाई अज्ञात समुहले निर्घात कुटपिट गरेको हो।
घाईते खत्रीको टाउको, मुख र शरीरमा गम्भीर चोट लागेको छ । खत्रीलाई लम्की चोकदेखि थपालीपुरतर्फ जादै गर्दा पाइनियर्स स्कुल नजिकै मोटर साइकल रोकेर बसेका दुई जना अपरीचित युवकले एक्कासी हेल्मेटले हिर्काएका रिक्सा चालक मोतिपुरका दानबहादुर खत्रीले बताए ।
त्यसो किन गरेको भन्दा उल्टै आफुमाथि समेत आक्रमण गरी कुटपिट गरेको रिक्साचालक खत्रीले बताए । लम्की चोकदेखी करीब २ सय मिटरको दुरी घटना भएको भएपनि घटनाबारे प्रहरीले भने गम्भीरताका साथ नलिएको स्थानियले गुनासो गरेका छन ।
कुटपिटसंगै होहल्ला गरेपछि दुबै जना युवक मोटरसाइकल चलाएर भागेको जनाइएको छ ।