कपिलवस्तु । गैर सरकारी संस्थाहरु पारदर्शी र समन्वयकारी हुनुपर्ने सरोकारवलाहरुले बताएका छन् । गैर सरकारी संस्थाहरु महासंघ कपिलवस्तु शाखाले तौलिहवामा राखेको गैरसरकारी संस्थाहरुको आचार संहिता समिक्षा विषयक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै जिल्ला समन्यव समितिका संयोजक नारायण खनालले जिल्लामा गैर सरकारी संस्थाहरुले राम्रो काम गरेता पनि आवश्यक समन्यव नहुंदा कुनै नगर तथा गाउंपालिकाहरुका वडाहरुमा दोहोरोपन आएको तथा कुनै वडाहरुमा कार्यक्रम पुग्न नसकेको उनले बताए ।
गैर सरकारी संस्थाहरु जिल्ला समन्यव समितिमार्फत् समन्यव गरेर गएका कार्यक्रममा दोहोरोपन नआउने तथा लक्षित क्षेत्रमा जनताले सेवा पाउनेसमेत खनालले बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले गैर सरकारी संस्थाहरु आफ्नो दायित्वको बारेमा जवाफदेही र पारदर्शी भएमा कहिकतैबाट प्रश्न नआउने बताए । हजारौं संख्यामा संस्थादर्ता गराई काम नगरिकन बस्नु भनेको उदेश्यविहिन हो त्यस्ता संस्थाहरुको समुदायमा कुनै भुमिका नै नहुने बताए ।
साथै पोख्रेलले संस्थाले सम्पन्न गरेका कामको उपलब्धीलाई संस्थामा तथा दातृ निकायसम्म मात्र प्रतिवेदन नदिई सरोकार वाला र अधिकारवाला हरु सम्म पुर्याएमा संस्थाहरु आफैमा पारदर्शी हुने बताए ।
सो अवसरमा गैर सरकारी संस्था महासंघका केन्द्रिय कोषाध्यक्ष जितराम लामाले गैर सरकारी संस्थाहरुको आचारसहींता भएका विषयहरुको बारेमा समिक्षामुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैर सरकारी संस्था महासंघ कपिलवस्तु शाखा अध्यक्ष प्रविण कुमार श्रीवास्तवको अध्यक्षता उपाध्यक्ष जय प्रकाश पाण्डेयको स्वागत र सचिव रामशरण रैदासको संचालनमा उक्तकार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा जिल्ला समन्यव समितिकी उपसंयोजक तारावती चौधरी, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी अनुसन्धानका उपरीक्षक नन्दराम पन्त नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रवी रावल निमित्त जिल्ला समन्वय अधिकारी रेशम राज शर्मा गैसस महासंघकी केन्द्रिय उपाध्यक्ष पार्वता आचार्य, प्रदेश इन्चार्ज शुभराम डागी, केन्द्रिय सदस्य सुमित्रा शर्मा, प्रदेश ५ का अध्यक्ष देवीलाल लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लामा कार्यरत ५० भन्दा बढी गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।