arrow

पत्रकार खड्का तीन दिनदेखि बेपत्ता, खोजीकार्यमा सरकार उदासिन

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
teju-bajura.jpg

डोटी। बाजुराको तिर्थस्थल बुढीनन्दाबाट फर्किदा तीन दिनदेखी बेपत्ता रहेका पत्रकार तेजु खड्काको अवस्था अझै अज्ञात रहेको छ। खड्काको अवस्था अज्ञात रहेसँगै सरकारी पक्षको उदासिनताका कारण खोजीकार्य प्रभावकारी रुपमा हुन नसकेको आरोप लाग्न थालेको छ ।
 
‘आज(मंगलबार)तीन दिन बितिसक्यो अवस्था अझै अज्ञात छ,’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले भने, ‘ सुरक्षा निकाय र सरकारले उदासिनता देखाउदा उहाँको जीवनरक्षा गर्न असहज भैरहेको छ ।’

पत्रकार खड्का बुढिनन्दाबाट फर्किनेक्रममा आईतबार बेपत्ता भएका हुन् । उनी बाजुराको बुढिनन्दा एफएममा कार्यरत छन् । उनीसंगै गएका साथीहरु घर फर्किसक्दा उनी भने अझै फर्किएका छैनन् ।

‘उहाँसँगका साथीहरु सबै फर्किसकेपछि बेपत्ता भएको जानकारी भएको हो,’ नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष छक्क मल्लले भने,‘सामान छुटेको भन्दै माथि जानुभएको थियो रे ! उहाँ आईहाल्नुहुन्छ भनेर साथीहरु बिस्तारै अघि बढ्नुभएछ । तर उहाँ अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन् ।’ बुढीनन्दा  १४ हजार फीट उचाईको क्षेत्र हो । निर्जन हिमाली तथा भिरालो क्षेत्रपर्ने सो ठाउँमा जान बाजुराको कोल्टीबाट दुई तीन दिनसम्म लाग्ने स्थानीयले बताउछन् ।

खड्काको खोजीमा बाजुरामा क्रियाशिल पत्रकार तथा स्थानीय प्रशासनले प्रयास गरिरहेका छन् । मंगलबार स्थानीय सुरक्षा समितिको बैठक बसेर सुरक्षाकर्मी परिचालित गरिएको छ । ‘स्थानीय स्तरबाट हुने सबै प्रयास हामीले गरिरहेका छौ, सुरक्षा समितिको बैठक बसेर सेनाप्रहरीको टोली परिचालन गरेका छौ,’ बाजुराका प्रमूख जिल्ला अधिकारी चेतरा बरालले भने ।
 
प्रहरी नायब उपरिक्षक सागर बोहराले असहज ठाउँ भएकाले खोजिकार्य कठिन रहेको बताए । ‘पैदलमार्गबाट सुरक्षाकर्मी परिचालित छन् । प्रतिकुल मौसम र भौगोलिक बिकटताले निकै कठिन छ,’ उनले भने,‘त्यहाँ पुग्नै कठिन छ । फेरी साँझ मानवबस्ती भएका क्षेत्रमा फर्किनुपर्ने बाध्यताले कठिनाई भैरहेको छ ।’ खोजीकार्यका लागि हेलिकप्टर अत्यावश्यक रहेको उनले बताए ।

तर हेलिकप्टरका लागि नेपाली सेनाको केन्द्रीय कार्यालय वा सरकारले बेवास्था गर्दा व्यवस्था हुन नसकेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बमले बताए । उनले भने,‘लगातार दुईदिनदेखी सेना र सरकारसंग हारगुहार गर्दापनि सुनुवाई हुन सकेको छैन् । पत्रकार बेपत्ता हुँदा सरकारले सुनुवाई नगर्नु दुखद् छ ।’
 
पत्रकार खड्का बेपत्ता भएकोमा पत्रकार सम्बद्ध संघसंगठनहरुले चिन्ता ब्यक्त गरेका छन् । उनको खोजीकार्य तथा जीवनरक्षाका लागि सरकारसंग सहयोगको आग्रह गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ