जनतालाई दुख दिनेले कहिलेसम्म उन्मुक्ती पाउने गृहमन्त्रीज्यू?
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ भदौ १२ मंगलबार
551
Shares
काठमाडौं। गृहमन्त्री राम बहादुर थापा वादलको असली परिक्षण हुने भएको छ। देशको शान्ति सुरक्षा र जनताको जीउधनको सुरक्षाको जिम्मा पाएका गृहमन्त्री वादल यतिखेर आफ्नो पद अनुसारको प्राप्त जिम्मेवारीमा खरो उत्रिने की नउत्रिने कसीमा छन्।
वादललाई कसीमा उतार्न नेकपाकै नेता तथा तत्कालिन संविधानसभाका सदस्य सत्यनारायण भगत अघी सरेका छन्।
भगतले मंगलवार गृहमन्त्रीको नाममा लेखेको एक पत्रले गृहमन्त्रीको असली परिक्षण हुने भएको हो। रौतहटका नेकपाका नेता भगतले लालवकैया नदी निर्माणमा लापर्वाह गर्ने पप्पु कन्स्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियारलाई पक्राउको लागि किटानी जाहेरी दिएका छन्। रौनियारकै कम्पनीले अलपत्र पारिएका संरचनाहरुमा स्थानयहरुले चलाएको डुङगा ठोक्किदा ४ जनाको मृत्यु र अझै १ वेपत्ता र दुई घाइते भएको भगतले किटानी गर्दै हरिनारायण रौनियारलाई पक्राउका लागि गृहमन्त्रीलाई निवेदन दिएका छन्।
गृह मन्त्रीको नाममा किटानी जाहेरी सहितको निवेदन दिदै भगतले जनताको जीउ धनमा क्षती पुर्याउने रौनियारलाई पक्राउ गरि कार्वाही तथा पिडितलाई उचित क्षतीपूर्तीको माग गरेका छन्। नेकपाका नेता भगतले पक्राउको माग गरेका पप्पुका मालिक रौनियार पर्साबाट निर्वाचित सांसद हुन्।
उनै रौनियार तथा उनको बदनाम पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा जुलुस निकालिएको थियो। पुल निर्माणको काम समयमै नसक्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए।
ठेकेदारको लापरवाहीले पुल समयमा नबन्दा भएको डुंगा दुर्घटनामा सर्वसाधारणको ज्यान गएको भन्दै गौरमा नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा जुलुस निकालिएको थियो।
शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो । दुर्घटनामा परि २९ जना भन्दा धेरै डुबेका थिए । जसमा ४ जनाको शव भेटिएको छ भने अन्य १ जना अझै बेपत्ता छन् ।
२०७४ असार २५ भित्र त्यो पुल निर्माण गरी सक्नुपर्ने थियो । तर हालसम्म पिलर मात्रै गाडिएको छ । निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनको ढिलासुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीयबासी बाध्य छन् ।
२०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि पप्पु कन्सट्रक्सनले सम्झौता गरेको थियो । निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् ।
निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा लिएको थियो । ठेकेदारले पुल निर्माणमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते यता सम्झौता अनुसार काम गर्न भन्दै पटक पटक पत्राचार गरेपनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन।
हरिनारायणको पप्पु कन्स्ट्रक्सन कम्पनीका बारेमा देशभर ३० वटा पुल निर्माणको जिम्मा लिएपनि समयमै एउटा पनि काम भएको छैन। बर्षौदेखि अलपत्र पारिएका कामका कारण सेवाग्राहीहरु अप्ठ्यारोमा पर्दै आएका छन्। कतिपय ठाउँमा जीवन गुमाउनु पर्ने अवस्था सिर्जना भएपछि उनको विरुद्ध देशभर माहौल तातेको छ।
सबैतिर पप्पुको नकारात्मक चर्चा र टिप्पणी भइरहँदा गृहमन्त्रीले यस बारेमा मुख खोलेका छैनन्। बींड धेरै तातेको छ तर ताप्के तातेको छैन भनिएको छ। के गृहमन्त्रीले यस बेलामा आफूलाई खरो सावित गर्दै भगतले भने झै हरिनारायणलाई पक्रेर देखाउन सक्लान? आखिर जनतालाई दुख दिनेले कहिलेसम्म उन्मुक्ती पाउने गृहमन्त्रीज्यू?