arrow

बिमस्टेक सम्मेलन सकिंदै, यस्तो छ अन्तिम दिनको कार्यतालिका

 ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर 

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
bimstek-launch1.JPG

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार दिउँसो सकिँदैछ । बिहिबारदेखि सुरु भएको बैठकमा सदस्य राष्ट्रहरुले आपसमा कनेक्टिभिटि गर्नु पर्नेमा जोड दिएका छन् । 

उनीहरुले सार्क सम्मेलनलाई प्रभावित नगर्ने गरी नै बिमस्टेकलाई अगाडि बढाउने प्रतिवद्धता पनि जनाएका छन् । 


के छन् अन्तिम दिनका कार्यक्रम 
सम्मेलनको दोस्रो तथा अन्तिम दिन बिहान ८ बजे सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा  ‘रिट्रिट’ दिँदैछन् । 

रिट्रिट सकिएपछि बिमस्टेक घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनको दोस्रो सत्र विहान १०ः३० बजे सुरु हुने छ ।

उक्त दोस्रो सत्रमा उर्जा आदान–प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति भइसकेको छ । 

ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने  बताइएको छ । 

त्यसपछि काठमाडौं घोषणापत्र जारी गरी दिउँसो उक्त सम्मेलन समापन हुनेछ । 

विशेष कारण जनाउँदै बंगलादेशी प्रधाानमन्त्री शेख हसिना वाजेद भने बिहान ११ बजे नै बंगलादेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

घोषणापत्र जारी भएपछि पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम रहेको छ । 

त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य राखेसंगै बिमस्टेकको चौथो शिखर सम्मलेन सकिने छ । 


सम्मेलन सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति सिरिसेनाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । 

त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । सो क्रममा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुनेछ । 

त्यसैगरी मोदीले भारतीय सहयोगमा पशुपतिनाथ मन्दिरमा निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ