arrow

ललितपुरबासीले मनाए मल्लकालिन नृसिंह जात्रा

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
jatra1.JPG

काठमाडौं । ललितपुरवासीले मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सञ्चालन हुदै आएको नृसिंह जात्रा मनाएका छन् । यो जात्रा नेपाल सम्बत ७५१ अर्थात् विक्रम सम्वत १६८८ देखि संचालन हुँदै आएको लिखित दस्तावेज छ। यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन हुने गर्दछ ।

ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले मात्रै यो जात्रा संचालन गर्ने जिम्मा पाएका छन् । राजोपाध्याय समुदायमा उमेरको वरिष्ठताको आधारमा पालैपालो नृसिंह जात्राको व्यवस्थापनको जिम्मा लिने गरिन्छ । यसपाली पटकोः टोलका धु्रव ज्वालानन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गर्ने जिम्मा लिएको हो । यहि परिवारबाट पाँच पुस्ताले जात्रा संचालन गरिसकेको छ । जात्राको पालो लिने गुठीका सदस्यका ज्वाँई वा भाञ्जा मध्ये एक नरसिंह बन्ने परम्परा छ । 

सायाः अर्थात गाइजात्रा गरिने रुटमा नै नृसिंह जात्रा परिक्रमा गराउने चलन छ । जात्राको मुख्य आकर्षक पक्ष नरसिंह, देवी लक्ष्मी र सरस्वतीका साथ नृसिंहको पछाडि हिरण्याक्ष र हिरण्यकश्यपुको प्रतीक मानिने दुई पुतला लिएर नगर परिक्रमा गरिन्छ । 

जात्राका क्रममा नृसिंह बन्ने सुल्टो हिँड्छन् भने, प्रल्हाद बन्ने बालक नृसिंहलाई नमस्कार गर्दै उल्टो पाइला चालेर हिँड्ने गर्छन् । शिरविन्दु र माला लगाएका अप्सरा बन्ने दुई बालिका अग्रपंक्तिमा रहने गर्छन् ।
नगर परिक्रमा गर्ने क्रममा नृसिंहको अघिल्लो पंक्तिमा परम्परागत बाजागाजाका साथ भजन समुह, वाद्य समू्ह, छत्र, कुचोले बाटो बढार्ने, दुबोले गाईको दुध र जल छर्कने, लावा र अबिर छर्कने गरिन्छ । 

नृसिंह जात्राको क्रममा बाजा गाजा र भजनसहित नृसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । 

जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले वर्षेनी १३ हजार रुपैयाँ मात्र उपलब्ध गराउदै आएको छ । जात्रा सञ्चालनका लागि कम्तिमा २ लाख रुपैयाँ आवश्यक पर्ने तर रकम अभावले नाच सञ्चालन गर्न समस्या परेको उपाकर्म गुठीका सदस्यहरुको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ