पीएम ओली, एचएम थापा, आईजी खनाल ! के अझै पनि निर्मलाका हत्यारा खोज्न भौँतारिइरहने हो ?
प्रकाशित २०७५ भदौ १६ शनिबार
348
Shares
काठमाडौं । बालिका निर्मला पन्त हत्याको शुरुदेखि नै स्थानीय सत्यतथ्य बाहिर आउनेमा सशंकित थिए । प्रहरी प्रशासननै अपराधी लुकाउन लागि परेको आभार उनीहरुलाई शुरुदेखि नै भएको थियो । कारण थियोः प्रहरीकै दबाब र सहभागितामा मृतकको शबको अन्त्येष्ठि गराइनु । प्रहरीले निर्मलाका बाबुआमालाई दबाब र करकापमै पारेर साउन १३ को मध्यरातमा शब बुझ्ने र जलाउने कागज गराएको थियो । प्रदेश संसदका सदस्यदेखि नगरपालिका प्रमुख, सीडीओदेखि सेनाका मेजरसम्मको हस्ताक्षर गराएर, साउन १४ गते उज्यालो नहुँदै अन्तेष्टि गर्ने तारतम्य तयार भयो ।
घटनाको २४ औं दिनमा मानसिक सन्तुलन गुमाएर दिलिपसिंह बिष्टलाई अपराधी करार गर्दै सार्वजनिक गरिएपछि स्थानीको आक्रोस आगोमा परिणत भएको हो । भदौ ५ देखि चर्केको आन्दोलन दबाउने क्रममै बालक सनि खुना शहीद बन्नुपर्यो । हत्यार लुकाउन भूमिका खेलेको भन्दै स्थानीयले आशंका गरेका एसपी दिल्लीराज विष्ट, मेयर सुरेन्द्र बहादुर बिष्टसहित सीडीओ कुमार बहादुर खड्का कन्चनपुरबाट तानिए । तर प्रहरीले दिलिपसिंहलाई दोषी किटान गर्दै हेडक्वार्टरमा ब्रिफिङ गर्यो आईजी सर्वेन्द्र खनाललाई । त्यही ब्रिफिङका आधारमा आईजी खनालले गृहमन्त्री रामबहादुर थापालाई ब्रिफिङ गरे भदौ ६ मा । खनालको ब्रिफिङ थियो : “दिलिपिसिंहले निर्मलाको साइकलको चेन बनाइदिएको, त्यसपछि उखुबारीमा लगेर बलात्कार गरेको, किलकिले थिचेर मारेको, निर्मलाको २० रुपैयाँ झिकको र नजिकको पसलमा गएर त्यही पैसाले परागसमेत खाएको”। केही दिनअघि पनि आईजी खनालले अन्तरवार्ता दिए : मानसिक रोगी भनिएकाले पनि बलात्कार गरेका घटना थुप्रै छन्, प्रहरी र सीआइबीको अनुसन्धान सही छ भनेर ।
गृहमन्त्रालयले उपसविचको कमाण्डमा अर्को छाबिन समिति बनाएर पठायो । यो समितिले अध्ययन गर्दैछ अझै । कन्चनपुरका डीएसपी कृष्णराज ओझाले हत्याकाण्डको अनसुन्धान गर्ने नेतृत्व लिएका छन्। के भइरहेको छ उनी भन्न मान्दैनन् । मिल्दैन पनि होला । तर दोश्रो म्याद थपका लागि अदालत लगिएका रोशनी र बबिता बमले घटनामा आफुहरुको कुनै संलग्नता नरहेको र थाहा पनि नभएको अडान लिएका छन् । सरकारी तबरबाट अहिलेसम्म भएको छानबिन र अध्ययनको पाटो यत्ति हो ।
सार्वजनिक रहस्यमय घटना क्रम :
निर्मलाले अम्बा खाएको भनिएको रुख कटान । बम परिवारको घरमा रंगरोगन । लास फेला परेको भनिएको ठाउँमा फेला परेका ओभानो किताब । बम परिवारसँग एसपी दिल्लीराज बिष्ट सम्बन्ध लगायत। पछिल्लो पटक निर्मलाको शब फेला परेको ठाउँको भिडियो नै सार्वजनिक भएको छ । भिडियो आफैं बोल्छ प्रमाण लुकाउन मात्रै होइन, नष्टै गर्न प्रहरी प्रशासनले केसम्म गरेको छ भन्ने । सायद यो भिडियो अब प्रधानमन्त्री ओली, गृहमन्त्री थापा र आईजी खनालको आँखाले पनि देखेको हुनुपर्छ ।
के अब पनि बालिका निर्मला पन्तको हत्यारा खोज्न अब दायाँबायाँ हेर्न जुरुरी छ ? पी.एम ओलीले शब उठाउन मुचुल्का गर्ने आफ्नै जनप्रतिनिधिलाई सोधे पुग्छ, के कारणले हस्ताक्षर गरे । एच.एम(गृहमन्त्री) थापाले मन्त्रालयलका असनुसन्धानकर्ता, प्रहरी अधिकारी र पूर्व संगठनका स्थानीय नेतामाथि निगरानी राख्न जुरुरी छ । आई.जी. खनालले संगठनभित्रका कायरहरुलाई नियन्त्रणमा राखेर खानतलासी गरे पुग्छ ।
यतिका प्रमाण फेला परेपछि पनि अनुसन्धान अब को माथि गर्नुपर्छ भन्नेबारे द्विविधा छ ? प्रमाण नष्ट गर्ने प्रहरी अधिकृतलाई संरक्षण गर्नै चाहेको हो ? एसपी विष्ट नेतृत्वको कन्चनपुर प्रहरी र सीआइबी टोलीले दिएको प्रतिवेदनमा अझै पनि विश्वास छ ?
निर्मला हत्याकाण्ड ढाकछोप गर्न कन्चनपुरका तत्कालिन स्थानीय प्रशासनदेखि पुरै प्रहरी प्रशासन लागि परेको स्पष्ट हुन बाँकी छ अझै ? त्यो बेलाका टोटल युनिटलाई बर्खास्थ गरेर हदैसम्मको सजाय किन नदिने ? त्यो बाहेक अर्को उपाय पनि छ ? अझै कति भौंतारिन्छौ ? जनताको आँखामा छारो हाल्ने काम गर्नै अझै बाँकी छ ?
याद रहोस् अझै पनि घटना तोडमरोडमा लागेर दोषीलाई उम्काउने प्रपञ्च गरिन्छ भने यो जुनीको त के कुरा, जुनीजुनीसम्म पनि निधारमा कालो धब्बा उत्तिकै टल्किनेछ।