काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भाषण गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन् । नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति काठमाडौंले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भाषण गरेर मात्र समृद्धि नआउने भन्दै काम गरेर देखाउने बेला आएको बताए ।
ररकारले चर्चामा आउन ठुल्ठुला सपना बाँडेपनि नागरिकको जीउधनको सुरक्षा गर्न समेत चुकेको उनले आरोप लगाए ।
दिनका दिन बलात्कार हत्या जस्ता आपराधिक गतिविधि भइरहँदा समेत दोषीलाई कारबाहीको माग गरेर जनता आउनु पर्ने, लाठी खानु पर्ने, गोली खाएर मर्नुपर्ने तर सरकार अझपनि केही भएको छैन जस्तो गरी बस्ने यो कस्तो खाले परिस्थिति हो भनेर उनले प्रश्न गरे ।
दिनानुदिन बढेको महंगी, जताततै मौलाएको कालोबजारी, जनताको दैनिकी धान्न परेको हम्मेहम्मे देखेर पनि सरकार सुशासनको भाषण मै रमाइरहेको छ भन्दै नेता सिंहले कम्तिमा पनि जनजीवनका बिषयमा आशालाग्दो काम गरेर देखाउन सरकारलाई सुझाव दिए ।
उनले काँग्रेसको अहिलेको नेतृत्वबाट सुधार हुन नसक्ने भएकाले अब सबल प्रतिपक्षी को भुमिका निभाउन र जनताको भरोसा र विस्वास भएको पार्टीलाई फेरि पनि पहिलो पार्टी बनाउन आन्तरिक सुधार जरुरी रहेको बताए ।
बाहिर पार्टी बिग्रेको छ भन्ने नेताहरु नेतृत्वको अगाडि गएपछि चाकडीमा लागेकाले नै झन् समस्या आएको उनको निचोड छ । नेता सिंहले सत्यको पक्षमा उभिन कार्यकर्ताहरुलाई अपील समेत गरेका छन् । उनले कसैको मुख हेरेर नभई कामका गतिविधि हेरेर नेताको पछिलाग्न समेत आग्रह गरेका छन् ।
कार्यक्रम नगरसभापति घनश्याम गिरिको सभापतित्वमा चलेको हो । शनिबार दिनभर चल्ने प्रशिक्षण कार्यक्रममा कांग्रेस काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ, सांसद राजेन्द्रकुमार केसीले मन्तव्य राखेका छन् ।