arrow

कांग्रेसको रचनात्मक विरोध: नेकपाको विरोध गरेर नागरिकलाई दु:ख के दिनु भन्दै सडक ग्राभेल

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ भदौ १६ शनिबार
congress-birodh1.jpg

कैलाली। सत्तारुढ दल आफ्ना निर्वाचित स्थानीय तहमा कार्यकर्ता पोस्ने काम गरिरहेेका बेला नेपाली कांग्रेस भने त्यसको विरोधमा रचनात्मक विकास कार्यमा जुट्न थालेको छ ।

नागरिकलाई राहत र विकास दिनुको साटो आफै सेवा र सुविधामुखी बन्दै निर्वाचनताका बोलेका बाचा एक पछि अर्को भुल्दै गएको सतारुढ दलको विरोध गरी जनतालाई दु:ख दिनु भन्दा आफ्नो पार्टी जनताको सेवा र विकासमा अगाडि बढीरहेको नेपाली कांग्रेस भजनी नगर समितिले जनाएको छ ।

विरोधका नाममा बन्द, चक्काजाम र हड्ताल गर्ने प्रवृत्तिलाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलालीको भजनी नगरपालिकामा नगरपालिकाको ध्यानाकर्षण गर्न हिलाम्मे सडक र खाल्डाखुल्डीमा ग्राभेल गरेको हो । जिल्लाको भजनी–सुखड खण्डको २४ कि. मि. सडकमा वर्षाका कारण खाल्डाखुल्डी परेर यातायात आवागमनमा समस्या भएपछि कांग्रेसले नगरपालिकालाई आवागमन सहज बनाउन खाल्डाखुल्डी पुर्न पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेको भन्दै कांग्रेसले शुक्रवार भजनी वजार क्षेत्रमा २४ घन मिटर ग्राभेलिङ्ग गरेको हो ।

विरोधका नाममा गरिदै आएका चक्काजाम, बन्द र हड्ताललाई नेपाली कांग्रेस भजनीको यस साङ्केतिक विरोधले सकारात्मक सन्देश दिएको छ । भजनी–सुखड र भजनी–सडकपुर बौनियाँ सडकखण्ड मर्मत गरिनु पर्ने कांग्रेसको मुख्य माग हो ।

भजनी नगरपालिकालाई हिलाम्मे सडक मर्मतका लागि घच्घच्याउन कांग्रेस कार्यकर्तावाट सङ्कलित रकमले ग्राभेल गरिएको कांग्रेसका तर्फबाट भजनी नगरमा मेयरका प्रत्याशी वीरबहादुर हमालले बताए । सडक मर्मतका लागि पटक–पटक नगरपालिकामा डेलिगेशन गयौं । भजनी नगरपालिकाले वास्ता गरेन आन्दोलनमा जानुको विकल्प नरहेपछि आन्दोलन गरिएको भजनी कांग्रेसका नगर सभापति टेकराज न्यौपानेले बताए ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रामनाथ उपाध्याय शान्तिपूर्ण आन्दोलन स्वरुप सडक मर्मतवाट आन्दोलन शुरू गरेको बताउँछन् । भजनी वजारमा नारावाजी गर्दै नगरपालिका कार्यालय परिक्रमापछि भजनी चौराहमा कोणसभा समेत भएको छ ।

प्रतिपक्षले उठान गरेका विकासमुखी योजनालाई बेवास्ता गरे भजनी कांग्रेस आन्दोलनमा जाने कोणसभालाई सम्वोधन गर्ने क्रममा वक्ताहरूले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ