पाटनको कृष्ण मन्दिरमा इतिहासमै पहिलो पटक दर्शनार्थीको संख्या कम
सार्वजनिक विदा नदिँदाको असर
प्रकाशित २०७५ भदौ १७ आइतबार
346
Shares
ललितपुर। पाटनको कृष्ण मन्दिरमा इतिहासमै पहिलो पटक यसपाली कृष्णाष्टमीका दिन बिहानमा दर्शनार्थीको संख्या सबैभन्दा कम देखिएको छ । प्रत्येक वर्ष कृष्ण मन्दिरमा हजारौ दर्शनार्थीको भिड लाग्ने भएपनि यसपाली मध्यरात १२ बजेपछि सर्वसाधारणका लागि ढोका खुल्ला गरिए पनि दर्शनार्थीको सख्या सबैभन्दा कम देखिएको हो ।
बिहान २ वटा लाईनमध्ये एउटा लाईन पुरुषको मगंलबजारकै भिमसेन मन्दिरसम्म र महिलाको लाईन रानी पोखसम्म मात्रै पुगेको मंगल टोल सुधार संघका अध्यक्ष किरण मान प्रधानले जानकारी दिए । बिगतका बर्षमा एउटा लाइन बंगलामुखी र अर्को लाइन महापाल पुग्ने गरेको थियो । यसले भित्री सडक समेत प्रभावित हुने गरेको थियो ।
आइतबार सार्वजनिक बिदा नभएकाले इतिहासमै पहिलो पटक दर्शनार्थीको सख्या अत्यन्तै कम भएको मंगल टोल सुधार संघका अध्यक्ष प्रधानले जानकारी दिए । २०७२ को भुकम्पपछि पहिलो पटक कृष्णजन्माष्टमीका दिन मन्दिर खुल्ला गरेपनि अपेक्षाकृत दर्शनार्थी नआएको उनले बताए ।
भुकम्प गएकै सालमा मन्दिर प्रवेश गर्न नदिएपनि उल्लेख्य सहभागि भएको दर्शनार्थी यसपाली कम हुनाको कारण आज साबर्जनिक बिदा नभएकाले नै हो, प्रधान बताउछन् । यसअघि हिजो बेलुका भने दर्शनार्थीको धेरै भिडभाड रहेको थियो । यो हेर्दा आईतबार दर्शनार्थीको संख्या बढने अनुमान गरेको थियो । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण अष्टमीका अवसरमा दिउँसो पाटनको कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ ।