बुटवल। बुटवलको एक बैँकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् ।
बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित वीपी चोकमा रहेको एभरेष्ट बैँकबाट रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको दुई लाख २३ हजार बिहान करीब १०.१५ बजे लुटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
बैँकमा पैसा जम्मा गर्न गएका गौतमले पैसाको झोला छेउको कुर्सीमा राखेर भौचर बनाउँदै गर्दा सेवाग्राही बनेर आएका लुटेराले भौचर भर्न सिकाइ दिन अनुरोध गरेर भुलाएको र सोही समयमा लुटेरा समूहका अन्य दुई जनाले रकम लिएर तीनै जना फरार भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।
नेपालगञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीको पसलमा कार्यरत गौतम पसलको पैसा जम्मा गर्न उक्त बैँकमा गएको समयमा रकम लुटिएको हो। यस विषयमा थप अनुसन्धान र लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।