arrow

शहीदको योगदान बिर्सन हुँदैन : देउवा

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
deuba-new.jpeg

चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदले पुर्‍याएको योगदानलाई देशले कहिल्यै बिर्सन नहुने बताए। पश्चिम चितवनको शारदानगरमा आज साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल–भारत मैत्री सांस्कृतिक कार्यक्रममा बोल्दै उनले शहीदको सपना पूरा गर्नुपर्ने बताए।

धर्मोदय युवा क्लब शारदानगरसहित त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त हुनुपर्ने भन्दै उनीहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताए। देशको यो उपलब्धिलाई संरक्षण गर्न सके मात्र शहीदका सपना पूरा हुने उनको भनाइ थियो। देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताए।

शहीदहरुले दिएको योगदानलाई आफ्नो पार्टीले कहिल्यै नबिर्सने बताउँदै उनले भने, “काङ्ग्रेस र देशले नै उहाँहरुले दिएको योगदानलाई कहिल्यै बिर्सनेछैन। उनीहरुको सन्तानलाई पार्टीले सधैँ सहयोग गर्नेछ।”

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतको सम्बन्ध पुरानो रहेको भन्दै आगामी दिनमा अरू प्रगाढ बन्दै जाने बताए। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले शान्ति र समृद्धि प्राप्ति गर्न सके मात्र शहीदहरुप्रति श्रद्धा हुने बताए।

विसं २००७ देखि २०४६ सालसम्म शहादत प्राप्त गरेका शहीद परिवारलाई नेपाली कांग्रेसका सभापति देउवा र भारतीय राजदूत पुरीले सम्मान गरेका थिए। विसं २००७ साल चितवनको पहिलो शहीद बनेका धर्मध्वज गुरुङ, २०१८ सालमा शहादत प्राप्त गर्ने इमानसिंह गुरुङ, लालध्वज गुरुङ, बुद्धसिंह लामा, हरिबहादुर गुरुङ, शेरबहादुर गुरुङ, खेमबहादुर गुरुङका र २०४६ सालमा शहादत प्राप्त गणेश पौडेलको परिवारलाई सम्मान गरिएको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ