arrow

कम्युनिष्टहरुले जन्माएको पैसालाई केन्द्रमा राख्ने वर्ग लोकतन्त्रका लागि खतराः पौडेल

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
Ramchandra_Paudel1.jpg.jpeg

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउदै गएको कम्युनिष्ट सरकार अब लोकतन्त्रका लागि सवै भन्दा खतरा हुन बताएका छन्। तनहुँको आँबु गाउपालिकाका विभिन्न स्थानमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पैसालाई केन्द्रमा राख्ने राजनीति भइरहेकाले राजनीति पार्टी जनताको नजरबाट गिर्दैै गएको बताए।

पौडेलले भने–‘ कम्युनिष्ट सरकार त्यही पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउदैछन् । यो वर्ग नै अब लोकतन्त्रका लागि सवै भन्दा खतरा हुन सक्छ। पार्टीको पार्टीहरु सक्ने ग्राण्ड डिजाइन भइरहेको छ । पार्टीका एक एक नेतालाई सिध्याएर पार्टी राजनीति र लोकतन्त्र सिध्याउने खेल भइरहेको छ ।’

पौडेलले कांग्रेस नेता कार्यकर्ताहरुलाई आचरणलाई सुधार गरेर अब नयाँ कांग्रेस बनाउने अभियानमा लाग्न आग्रह गरे। उनले भने– ‘पार्टीलाई माफियातन्त्रबाट जोगाउन कांग्रेस कार्यकर्ताहरु अगाडि आउनुपर्छ। राजनीति पार्टी जनताको नजरमा गिर्दै गएका छन् यसबाट जोगाउने मेरो लक्ष्य हो। आजको आवश्यकता पनि यही हो । पैसालाई केन्द्रमा राखेर राजनीति गर्‍यो भने देश दुर्घटनामा जान सक्छ। चुनावका बेलामा हिजो साथीहरुबाट गल्ती भएको हो । अब त्यो विषयमा पश्चताप गरेर पार्टी संगठनमा लाग्नुस ।’
 
वरिष्ठ नेता पौडेलले नेपाल वायु सेवा निगममा वाइडवडी खरिदमा भएको घोटालाको छानविनको माग समेत गरे। उनले भने– ‘ कम्युनिष्टहरुले हिजो लाउडाको नाममा कांग्रेसलाई बदनाम गराए आज त्यही नेपाल बायू सेवा निगममा वाइडवडी जहाज किन्दा भएको घोटालामा किन सवै चुप भएका छन्। वाइडवडी जहाज खरिदमा भएको घोटलाको तत्काल छानविन हुनुपर्छ।’

पौडलले राजनीतिलाई भ्रष्टीकरण नेताहरुका कारण भएको जिकिर गर्दै भने–‘राजनीतिलाई भ्रष्टीकरण गर्न कस्ले कति सहयोग पुर्‍याएका छौ सवैले छातिमा हात राखेर आफैलाई सम्झौ । राजनीतिक पार्टीप्रति जनताको वितृष्णा किन बढिरहेको छ। त्यसलाई रोक्न हामी सवैको जिम्मेवारी हो ।’ 

पौडेलले पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोमा पनि गुनासो गरे। उनले भने–‘ पार्टीको भुमिका संसदमा देखिएको छैन्। कांग्रेसले संसदमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्छ। कम्युनिष्टहरु असफल भएपछि हामी नै आउछौ भन्ने छैन । त्यसैले अब कांग्रेसले सजग भएर आफ्नो भूमिका देखाउनु पर्छ।’ 

वरिष्ठ नेता पौडेलले चुनावका बेलामा सवै बाटाहरु २ महिनामा कालोपत्रे गर्छौ भन्नेहरुले विकासका काम अलपत्र छोडेर हराएको बताए। उनले भने–‘हिजो चुनावमा दुई महिनामा सवै सडक कालोपत्रे गछौ भन्नेहरु आज कता हराएका छन् आज तनहुँमा  विकासका काम के भइरहेका छन्। विगतमा विकासमा तनहुँले कोल्टे फेरेको थियो तर आज के भयो । ब्यास परासर पर्यटन गुरुयोजना बनाएर हामीले तनहुँलाई पर्यटनको हब बनाउन खोजेका थियौ । तर त्यो हुन सकेन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ