नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आइतबार चौथोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो ।
प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन÷तीन दिन मात्र म्याद थप गर्दै आएको छ । बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पुर्याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको छ ।
धमले–निरन्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उजुरी दर्ता गराएका थिए ।
स्काभेटर जलाएको आरोपमा परेको उजुरीमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विक ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलाको नाम रहेको छ ।