पाल्पा । नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा सोमबार निकालिँदै छ ।
वि स १८७१ देखि १८७२ भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाईदै आएको हो ।
तानसेनमा छिमेकी जिल्ला गुल्मी, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, कविलवस्तु लगायतका स्थानहरुबाट भगवती रथको दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ ।
यस बर्षको रथजात्रामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको विशेष उपस्थिति रहने छ । यस अघि भगवती व्यवस्थापन समितिले राष्ट्रपति, मुख्यमन्त्री आउने भनिए पनि कार्यव्यस्तताका कारण नआउने भएका हुन् ।
यो बर्ष जात्रा व्यवस्थापन समितिले दुई सऔ विजयउत्सव मनाउँदै छ । तत्कालीन इष्टइण्डिया कम्पनीका अँग्रेजले नेपालका पाँच स्थानबाट नेपालमाथि आक्रमण गरेकोमा बुटवल जितगढीमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाको कमाण्डवाला टुकडीले अँग्रेज सेनालाई धपाएको थियो ।
कर्णेल उजिर सिंह थापाले युद्धमा लड्ने शक्ति, हिम्ममत शाहसको आर्शिंवाद माग्दै, युद्ध जितेमा भगवती मन्दिर पर्नस्थापना गरी बर्सेनि सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए ।
जितको खुसियालीमा प्रत्येक तानसेनमा विजयउत्सव मनाउने प्रचलन रहँदै आएको छ । विस १८७६ सालदेखि अँग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा नेपाली सेना, स्थानीयवासीको सहयोगमा विजयउत्सव स्वरुप भगवती जात्रा मनाउने प्रचलन रहँदै आएको हो ।
विजयउत्सवको २ सय औ बर्ष मनाउन भगवती मन्दिर व्यबस्थापन समितिदेखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु भव्य तयारीमा जुटेका छन् ।
विजय उत्सवलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको बनाउन समिति सक्रिय भएर जुटेको छ । विजय उत्सवलाई भव्य रुपमा मनाउन सबैपक्ष लागेका छन् ।