कास्की। हामी कांग्रेसका कार्यकर्ताहरु अधिनायकवाद आयो भन्ने, नेकपाका मित्रहरु अधिनायकवाद आएको छैन र आउँदैन भन्दै दोहोरी खेलिरहँदा जस्केलाबाट अधिनायकभन्दा निर्मम, खतरनाक र डरलाग्दो, विवेकशून्य ओलीवाद आइसकेको हामीले पत्तै पाएनौं।
माननीय सभामुख महोदय
हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई। भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको देवी पुज्ने र घरको देवी चुट्ने विनाशकारी मार्गतिर अग्रसर भइरहको छ।
छोरीलाई भ्रुणमै हत्या गरिदिने, जिउँदै जलाउने, एसिड हाल्ने, जस्ता निन्दनीय घटना पश्चात साढे २ वर्षकी बालिका देखि ७६ वर्षकी हजुरआमा समेत वलात्कारको शिकार बनिरहेको घटना कहालीलाग्दो रुपमा बढिरहेको छ।
यही क्रममा १३ वर्षीय बालिका निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि नृशंस हत्या भयो। संघीय सरकारवाहेक सम्पूर्ण देश स्तभ्ध, दुखित र शोकाकुल बन्यो। हत्याकाण्डका दोषीलाई कानुनी कठघरामा उभ्याउनुको साटो पीडित परिवारलाई मानसिक यातना दिने, गलत किटानी जाहेरी गर्न वाध्य पार्न खोज्ने प्रयास भत्र्सनापूर्ण छ । पालो पालो गरेर ३ जना मानसिक बिरामीलाई बिना प्रमाण अपराधी सावित गराउन सम्पूर्ण राज्य संयन्त्र नै परिचालित हुनु झन निन्दनीय प्रयत्न थियो।
सभामुख महोदय,
गत निर्वाचनको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टको सुरकार बन्यो भने रुन पनि पाइँदैन भन्नुभएको थियो । हाम्रो नेताको अभिव्यक्तिले शालिनताको लक्ष्मणरेखा नाघेको जस्तो हामीलाई पनि लागेको थियो । कति दुरदर्शी रहेछन् हाम्रा नेता, खै रुन पाइएको नेकपाको राज्यमा ?
बहिनी बलात्कृत भइन्, छोरी मारिइन् भनेर शान्तिपूर्ण तरिकाले न्याय माग्दै सडकमा रुँदै निस्केका नागरिमाथि बर्बर दमन गरेको छ यो सरकारले । लाठीचार्ज र अश्रुग्यासले सरकारको दमनतृष्णा मेटिएन । गोलीको वर्षा गरेर २ दर्जन भन्दा बढीलाई घाइते बनाउँदै १ नाबालक सन्नी खुन्नाको हत्या समेत गर्यो केपी ओलीको सरकारले।
अझ विडम्बना त के भने सभामुख महोदय, लोकतन्त्रको लागि १४ वर्ष जेल बसेको आदरणीय व्यक्ति प्रधानमन्त्री भएका बेला १४ वर्षे बालकको छातीमा गोली हानेर मारिनु अकल्पनीय छ। बालकको शरीरसँग सँगै सम्माननीय प्रधानमन्त्री केपी ओलीको त्याग बलिदान, संघर्ष र राष्ट्र अनि जनताप्रतिको निष्ठा पनि त्यही चितामा जलेर खरानी भयो।
इमान्दारिताका साथ भन्नुपर्छ बिपीपछि नेपाली जनताले बडा सम्मानका साथ विस्वास गरेका नेता हुन् केपी ओली । बिपीलाई काम गर्न दिइएन केपी ओलीले गर्छन्, हाम्रो र राष्ट्रको मुहार फेर्छन्, नेपाललाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउँछन् भने जनताले । यसैकारण सूर्य र हँसिया हथौडामा छाप लागेको मतपत्रको बाकस बोकेको गाडी टायर पंक्चर हुने गरी मत दिए जनताले । कम्युनिस्टलाई सफलता प्राप्त भयो । कृतघ्नताको पनि हद हुन्छ सभामुख महोदय । प्रतिफल स्वरुप आज केपी ओली सरकार जनताको जीवन नै पंक्चर गरेर गुन तिरिरहेको छ ।
राज्यले कर्मचारी पठाएन, संघीयता नै धरापमा पार्न थाले र प्रदेश, स्थानीय सरकारहरु रुवावासी गरिरहेका छन् । बेरोजगारलाई रोजगार दिन्छु नभए भत्ता दिन्छु भन्ने नेकपा नेतृत्वमा रहेको अधिकांश स्थानीय सरकार वर्षौंदेखि कार्यरत सामाजिक परिचालकलाई बहाली गर्न र समायोजन गर्न अस्वीकार गरिरहेका छन् । यसै सन्दर्भमा रोजीरोटी खोसिएको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका दिदीबहिनीहरु माथिको दमनलाई बर्बरताको निरन्तरता नै मान्नुपर्छ । पुरुष प्रहरीले महिलाहरुको चुल्ठो समातेर तानेको, बुटले हानेको, हातपात गर्न खोजेको मात्र हैन गर्भवती महिलाको कोखमा लठ्ठीले घोच्दै गरेको दर्दनाक दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
सभामुख महोदय,
राष्ट्र र राष्ट्रियताको नाममा इदि अमिनको सरकारले युगान्डामा गरेको नरसंहार, इश्लामको नाममा औरंगजेबको सरकारले दिल्ली, आग्रा, सारजहाँपुरमा गरेको हिन्दुहरुको कत्लेआम, रक्तशुद्धता र जातीय गौरवमो नाममा हिटलरले जर्मनी, बेल्जियम हंगेरीमा यहुदीहरु माथि गरेको बर्बर दमनले इतिहास कलंकित बनेको थियो । आज समृद्ध नेपाल सुखी नेपालीको आवरण ओढेर महिलाको कोखमा लाठी घोचेर पेटमै हत्या गर्न खोज्ने, बलात्कारीलाई संरक्षण दिँदै पीडित परिवारलाई मानसिक यातना दिने, मानतालाई शर्मनाक गरी तीजमा चेलीबेटीलाई दमनको उपहार दिने केपी ओली सरकारका यस्ता कार्य तिनै श्रेणीको हो कि भन्ने बहस चलेको छ ।
हामी कांग्रेसका कार्यकर्ताहरु अधिनायकवाद आयो भन्ने, नेकपाका प्रिय मित्रहरु अधिनायकवाद आएको छैन र आउँदैन भन्दै दोहोरी खेलिरहँदा जस्केलाबाट अधिनायकभन्दा निर्मम, खतरनाक र डरलाग्दो, विवेकशून्य ओलीवाद आइसकेको हामीले पत्तै पाएनौं ।
पोखरामा १३ वर्षे पुष्पा केसीको शव संदिग्ध हालतमा फेला पर्यो। निश्पक्ष छानविन, सत्यतथ्य भएर वास्तविकता बाहिर आएको खै ? कञ्चनपुरकी निर्मला पन्त लगायत देशैभरी छोरीहरुमाथि भएको हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कानुनको कठघरामा उभ्याएर दण्डित गर्न सभामुख मार्फत म सरोकारवालासँग अनुरोध गर्दछु।
(प्रदेश सांसद खड्काले सोमबार गण्डकी प्रदेश सभामा विशेष समय लिएर राखेको मन्तव्य)