निर्मला हत्याकाण्ड: डेढ महिना बित्नै लाग्दा पनि खुलेन राज
महेन्द्रनगर संशकित...
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ भदौ २० बुधबार
401
Shares
कञ्चनपुर। पश्चिम नेपालको महेन्द्रनगरमा गत साउन १० गतेको क्रूर दानविय निर्मला हत्याकाण्डको डेढ महिना बित्नै लाग्दा पनि को हो वास्तविक हत्यारा प्रहरीले पत्ता लगाउन नसक्दा जघन्य अपराधको राज खुल्न सकेको छैन ।
घरबाट साथीको घरमा पढन गएकी बालिका निर्मलाको निर्मम अमानवीय रुपमा बलात्कार पछि हत्या गरि सुनसान उखु बारीमा शव फालिएको घट्नाको डेढ महिना पुग्दै छ । घटनामा सुरु देखिनै प्रहरीको भुमिका प्रती सशंकित बनेका स्थानीयले हत्याराको पहिचान र कारवाहीको माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
चौतर्फी आन्दोलन र प्रहरी आलोचित बन्दै गए पछि सरकारले डिएसपी अंकुर जिसीको नेतृत्वमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीको टोलि परिचालन गरेको थियो ।
सिआइबिको टोलिले अनुसन्धान थाले पछि अलिक शान्त र खुकुलो भएको स्थानीयको आन्दोलन डिएसपी जिसी सहितको प्रहरी टोलिले एकाएक मानसिक सन्तुलन ठिक नभएको भनिएका दिलिप बिष्टलाई हत्याराका रुपमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे पछि पश्चिम नेपालको महेन्द्रनगरमा आन्दोलन चर्किएको हो ।
न्यायको माग राख्दै थालिएको नागरिक आन्दोलनमा प्रहरीले गरेको बल प्रयोग गोलि प्रहारबाट १४ वर्षिय किशोर सन्नी खुनाको ज्यान गएको थियो ।
पश्चिम नेपालको कञ्चनपुरमा नागरिक द्वारा गरिएको प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमन र प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का , कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज बिष्ट , डिएसपी ज्ञानबहादुर सेठी र एक प्रहरी निरिक्षकलाई केन्द्रमा तानेको थियो । सो घट्नमा लापरबाही गरेको भन्दै एसपी बिष्टलाई निलम्बित गर्दै एसपी कुबेर कडायतलाई कञ्चनपुर पठाएको हो ।
घटनाको झन्डै डेढ महिना हुनै लाग्दा समेत निर्मला हत्याकाण्डका वास्तविक हत्यारा अझै को हो राज खुल्न सकेको छैन् । कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी समालेका एसपी कुबेर कडायत भन्छन् घटनाको गहन अनुसन्धान गरि रहेका छौ ।
अझै नयाँ प्रगति हात लागि सकेको छैन । उनी भन्छन् प्रहरी अति सम्बेदनशिल भएर अनुसन्धानमा लागेको छ ।
हुन त उक्त घटनाको सूक्ष्म अनुसन्धानको लागि नेपाल सरकारले सह सचीव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिती गठन गरि कञ्चनपुर परिचालन गरेको छ । मैनाली नेतृत्वको टोलिले समेत छानबिन बढाएको छ ।
केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंकुर जिसीको टोलिले गरेको अनुसन्धानमा स्थानीय आश्वस्त हुन नसके पछि गृहमन्त्रालयले उनलाई फिर्ता बोलाइ एसएसपी ठाकुर प्रसाद ज्ञावलीको नेतृत्वमा सिआइबीको टोलि कञ्चनपुर निर्मला हत्याकाण्डको अनुसन्धानका लागि खटाएको छ ।
बालिका निर्मलाको बलात्कार पछि हत्या गरिएको घटनाको बिरोधमा स्थानीय जनताद्वारा गरिएको लगातारको बिरोध प्रदर्शन दबाउन प्रहरीद्वारा गरिएको बल प्रयोग र गोलि प्रहारबाट कञ्चनपुरमा एक किशोरको ज्यान गएको र दर्जनौं घाइते भएका थिए । प्रहरी र प्रशासन माथी नागरिकको अबिश्वास बढ्न जाँदा लगातार बढ्दै गएको प्रदर्शनमा रोक लोगाउन केही दिन कर्फ्यु जारी गरिएको थियो ।
दिनहुँ का प्रदर्शन र प्रहरीको बलप्रयोग तथा कर्फ्यु बिच अस्तब्यस्त बनेको महेन्द्रनगरको जनजीवन अहिले सामान्य बन्दै आए पनि निर्मला हत्या काण्डका वास्तविक हत्यारा अझै पत्ता लाग्न नसक्दा स्थानिय जनजीवन त्रसित र आक्रोशित नै रहेको छ ।
शुन्यबाट अनुसन्धान थालिएको प्रहरीले बताउदै आए पनि घटनाको लामो समय बित्दा समेत हत्यारा नजिक प्रहरी पुग्न नसक्नुले नागरिक आश्वस्त हुन सकेका छैनन् ।