काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि भारत गएका । उनी अपरान्ह दिल्ली गएका हुन् ।
भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।
पूर्वप्रधानमन्त्री दाहालले भने, “भ्रमणको कुनै राजनीतिक एजेण्डा छैन, विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउने छु ।”
नेपालको संसद्मा सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्रीले गरेकाे सहयोगको प्रतिबद्धता एवं भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई गर्ने सहयोगसम्बन्धी विषय पनि भ्रमणका क्रममा छलफल गरिने उनले बनाए ।
अध्यक्ष दाहालले पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने सुनाए । ‘समृद्ध नेपाल र सुखी नेपाल’को राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीवीसँग छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न भ्रमण केन्द्रित हुने उनले बताए ।
अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल गर्ने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । त्यस्तै उनले भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गर्ने छन् । अध्यक्ष दाहाल भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम छ ।