काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका उच्चतहको नेतृत्वले गरेका द्विपक्षीय सम्झौता समयमै कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले विश्वमामिलासम्बन्धी भारतीय परिषद् (आइसीडब्लुए)ले आज नयाँ दिल्लीमा आयोजना गरेको ‘हालैको नेपालको विकास र नेपाल–भारत सम्बन्धको विस्तार’ सम्बन्धमा प्रवचन दिँदै उनले यसका लागि तल्लोस्तरदेखि नै सकारात्मक तवरले काम शुरु भएको बताए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देश नेपाल चारपटक भ्रमण गरेकामा खुशी व्यक्त गर्दै पूर्वप्रधानमन्त्री दाहालले उच्चस्तरको भ्रमण नेपाल–भारतबीचको सम्बन्धमा ऐतिहासिक रुपमा रहने बताए।
उनले दुई देशबीचको विकासका लागि अन्तरदेशीय पूर्वाधारलाई उच्चप्राथमिकता राख्न उपयुक्त हुने बताए। उनले छिट्टै सञ्चालनमा आउने अन्तरदेशीय रेल सञ्चालनबाट व्यापार, पारवाहन तथा जनताको आवतजातवमा सहज हुने विश्वास व्यक्त गरे।
मुख्य सीमा बिन्दुमा सडकको स्तरोन्नति गर्नुपर्ने विचार व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालसँग भएको जलविद्युत्को क्षमता र भारतको आवश्यकताबीचमा मुख्य सहकार्य हुनुपर्नेमा जोड दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। नेपाल र भारत दुवै पक्ष सम्बन्धलाई २१ औं शताब्दीअनुसार स्तरउन्नती गर्दै उनले लैजानुपर्नेमा सहमत भएको र यसले प्रबुद्ध व्यक्ति समूह(इपिजी)ले दिएको सुझाव कार्यान्वयन गरिनुपर्ने बताए।
द्वीपक्षीय सम्बन्ध, समानता, आपसी सम्मान र आपसी फाइदा र अहस्तक्षेपकारी नीति नेपालले अङ्गीकार गरेको बताउँदै अध्यक्ष दाहालले नेपालको शान्त, स्थायी, समृद्धि र प्रजातान्त्रिक चासोमा रहेको मजबुद सम्बन्ध छिमेकी, क्षेत्र र क्षेत्रभन्दा माथि रहेको दोहोर्याए।
उनले भारतले विकासको लक्ष्य प्राप्त गर्न तय गरेको ‘सबका साथ, सबका विकास’को नारा र नेपालले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दीगो विकासका लागि गतिशील दृष्टिकोण भएको बताए। अध्यक्ष दाहालले दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० भित्र नेपाललाई अतिकम विकसित मुलुकको अवस्थाबाट मध्यम आय भएको मुलुकको अवस्थामा पुर्याउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। रासस